लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ । गजुर जीर्ण भएपछि कोषले दाताहरूको सहयोगमा तयार पारिएको स्वयम्भु स्तुपा आकारको आधुनिक गजुर राखेको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
मंगलबार दाता मालिनोङ्ग बुद्ध जन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको छ । यसअघि राखिएको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । स्वयम्भु स्तुपाको मोडेलमा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए । गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ ।
यसअघिको मन्दिरको गजुर पुरानो र जीर्ण भइसकेको थियो । बाँदरले हल्लाउदा ढल्कने, पार्टपुर्जाहरू खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रति कोषका सदस्य सचिव शाक्यले धन्यवाद दिए । गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन) को कभर स्थापनाका लागिसमेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।
मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगरस्थित बिहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीबृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताए । उनका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् ।
आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब ६० लाख लगानी लागेको शाक्यले बताए । नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आर्कषक देखिएको छ ।