सरकारले नेकपा एमालेसँगको सल्लाहमै परराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण रद्द गरेको बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिमा पनि राजनीति गरेको भन्दै व्यापक आलोचना भएपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले एमालेसँग छलफल गरेरै परराष्ट्रमन्त्रीको विदेश भ्रमण स्थगित गरिएको बताए ।
उनले भने– ‘सत्ता साझेदार दलका सबै मन्त्रीसँग छलफल गरेर आपसी सहमतिमै मन्त्री पौडेलको जेनेभा भ्रमण रोकिएको हो । यस विषयलाई दुष्प्रचार गरियो’, उनले भने ।
सरकारले पूर्वाग्रह राखेर परराष्ट्रमन्त्री पौडेलको विदेश भ्रमण नरोकेको उनको भनाई छ । राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिको रूपमा आइतबार जेनेभा जान लागेका थिए । तर अन्तिममा आएर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए ।
प्रधानमन्त्री प्रचण्डको समेत कतार भ्रमण रोकिएको छ । उनको ठाउँमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतार जाँदैछन् ।