काठमाडौं, चैत १५ गते । विवेकशील साझा पार्टीले मिटरब्याज पीडितका माग शिघ्र सम्बोधन गरी पीडितलाई न्याय दिनसरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले मिटरब्याज पीडितको नैसर्गिक अधिकारको सम्मान गर्नुहुँदै पीडितका आन्दोलनमा पार्टीका तर्फबाट ऐक्यवद्धता जनाउनुभएको छ ।
अध्यक्ष बास्कोटाले मिटरब्याज पीडितले राजधानीमा गर्ने प्रदर्शनमा सहभागिता जनाउन र पीडितको खाना, पानी, बास जस्ता आधारभूत आवश्यकता अनुसारको मद्दत गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले देशका नागरिकले राज्यलाई आफ्ना माग सुनाउन काठमाडौंमै धाउनुपर्ने बाध्यात्मक अवस्थाले सङ्घीयताको कार्यान्वयन कति फितलो छ भन्ने देखाएको बताउनुभयो ।
‘‘यसले नागरिकका मागमा राज्यसत्ता कति उदासिन छ भन्ने प्रष्ट हुन्छ । तसर्थ नारामा मात्र सिमित, “गाँउ गाँउमा सिंहदरवार” लाई तुरुन्तै बलियो कानुन बनाएर स्थानिय तह तथा प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने अनि जवाफदेही बनाउने तर्फ पनि सरकारले सोच्न आवश्यक छ ।,’’ अध्यक्ष बास्तोटाले भन्नुभयो, ‘‘यद्यपी मिटरब्याजीलाई कारवाही गर्ने गरि कानुन बनाउने र मिटरब्याज पीडितसँग वार्ता गर्ने सरकारको मङ्गलबारको निर्णय स्वागत योग्य छ ।”
मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रुपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरु मार्फत “विशेष कार्यान्वयन अभियान” नै चलाएर मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।

















































