हुम्ला, चैत १५ गते । चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुङ्गामा अडिकएको अबस्थामा भेटिएको लाशको पहिचान भएको छ । लाश भएको आशंका गरिएका परिवारका सदस्यहरु घटनास्थलमा पुगेर आफ्नै मान्छे भएको बताएपछि सो लाशको पहिचान खुलेको हो ।
प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले नदीमा भेटिएको लाश रुकुमपूर्व जिल्लाको पृथ उत्तरगंगा गाउँपालिका –६ को मनहाङ गाउँका सञ्चार घर्तीमगर भएको आफन्तले स्वीकार गरेका छन् । गत आइतबार बेलुका चङ्खेली गाउँपालिका –४ को पिप्लाङ गाउँको तल पर्ने दर्बी कर्णाली पिप्लाङ गाउँका दुई जना युवाहरुले हर्के कुलाल र सुरज विकले माछाका लागि जाल हाल्न जानेक्रममा नदीमा लाश अड्किएको अबस्थामा देख्नुभएको थियो ।
लाश पिप्लाङकै गाराडिली भन्ने स्थानमा भेटिएको छ । प्रहरीका अनुसार घर्तीमगरका परिवारका चार जना सदस्य घटनास्थलमा पुगेर लाशको पहिचान गरेका थिए । यसका लागि जिल्लाबाट प्रहरी सिताप्रसाद चौधरीको टोली गत सोमवार घटनास्थल गएको थियो । शवको पहिचान भएपछि प्रहरीले आफन्तको आग्रहमा शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगेको जनाएको छ ।
पिप्लाङबाट गत मङ्सिर ८ गते घर्तीमगर बेपत्ता भएका थिए । घर्तीमगर बेपत्ता भएपछि प्रहरीले तीन जना पुुरुष र एक जना चङ्खेली गाउँपालिकाकी महिला कर्मचारीलाई अनुसन्धान गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।