वालिङ, चैत २६ गते । युवाकवि युवराज सुवेदीद्वारा लिखित ‘पृथक पाईला’ मुक्तक संग्रह र ‘शान्तिदुतको अग्निपथ’ कविता संग्रहको लोर्कापण गरिएको छ । वैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान स्याङ्जा र प्रज्ञा प्रतिष्ठान वालिङको संयुक्त आयोजनामा कृति लोर्कापण गरिएको हो ।
वालिङ ८ का साहित्यकार सुवेदीले आफ्ना कृतिहरुमा देशभक्तिपुर्ण भावनाले ओतप्रोत, प्रकृतिप्रेम, सकरात्मक सन्देश तथा लेखकले आफ्ना जीवनको अनुभव र अनुभूति संग्रहमा समावेश गर्नुभएको छ ।
कृतिको लोर्कापण पोखराका साहित्यिक पत्रकार, कवि तथा गजलकार वियोगी बुढाथोकीले गर्नुभएको हो । कृति लोर्कापण गर्दै वरिष्ठ साहित्यकार बुढाथोकीले वालिङ भाषा र साहित्यको लागि उर्वर भूमि रहेको भन्दै पछिल्लो समय युवाहरु जागरुकताका साथ साहित्यमा लागिपरेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद सरस्वती तिवारीले साहित्य समाजको ऐना भएकाले समाजलाई सुसंस्कृत बनाउनका लागि साहित्यिक कलमहरुले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
पृथक पाईला मुक्तकको साहित्यकार वसन्त खनाल र शान्तिदुतको अग्निपथ कविताको साहित्यकार सम्भु अर्यालले टिप्पणी गर्नुभएको थियोे । कार्यक्रममा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, सिक्किमबाट आउनुभएका कवि जिविका खतिवडा अश्रु, काठमाडौबाट आउनुभएका कवि लक्ष्मण वियोगी र तुल्सीराम पुडासैनी, पोखराबाट आउनुभएका कवि लक्ष्मण थापालगायत जिल्लाका वरिष्ठ साहित्यकारहरुको सहभागिता थियो ।
कार्यक्रम वरिष्ठ साहित्यकार देविप्रसाद वनबासी र मिलन समिरले सहजीकरण गर्नुभएको थियो ।