काठमाडौं, जेठ ९ गते। राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ। राष्ट्रपति पौडेलको बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका छाेरी अवज्ञा पौडेलले बुढामगरलाई हस्तान्तरण गर्नुभयो।
ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँंदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ भन्ने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ।
“घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयापनलाई सहज एवम् सरल बनाउँदै सगरमाथा आरोहणजस्तो साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो”, राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ।
राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गर्नुभएको छ।