कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंसम्मका लागि सुविधासम्पन्न रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ ।
‘नमस्ते कपिलवस्तु (शुभयात्रा)’ को पहलमा कात्तिक २० गतेदेखि सुरु भएको बस सेवाको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
नयाँ बस सेवाले कृष्णनगर तथा आसपासका क्षेत्रका यात्रुलाई काठमाडौं आवतजावत गर्न सहज, सुरक्षित र आरामदायी सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
बस सञ्चालक कमल पौडेल, भक्त केसी र राजेन्द्र भण्डारीका अनुसार अत्याधुनिक सुविधासहितको उक्त बस दैनिक साँझ ५ बजे कृष्णनगरबाट काठमाडौंका लागि छुट्नेछ । त्यसैगरी काठमाडौंको नयाँ बसपार्कबाट साँझ ७ बजे कृष्णनगरका लागि प्रस्थान गर्नेछ ।
यात्रुको सुविधा, सुरक्षा र आरामलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको सञ्चालकहरूले बताएका छन् । रात्रिकालीन बस सेवाले काठमाडौं आवतजावत गर्ने स्थानीय नागरिकलाई थप सहजता प्रदान गर्नुका साथै जिल्लाको यातायात सेवाको स्तर सुधारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
सुविधासम्पन्न यातायात सेवाको विस्तारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन क्षेत्रको विकासमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कृष्णनगरबाट काठमाडौंसम्म नियमित रात्रिकालीन बस सेवा सुरु भएपछि स्थानीय यात्रुलाई आवागमनमा थप सहज हुने विश्वास गरिएको छ ।
















































