कपिलवस्तु १० जेठ
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिलालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे ।
२०७६ असोज ७ गते नेपाल सरकारको मन्त्री परिषदले प्रहरी चौकी बुढ्ढी राख्ने निर्णय गरेको थियो । जग्गा र भवन अभावले चौकी स्थापना हुन सकेको थिएन । सो अवसरमा डिआईजी जोशीले चौकी स्थापनाले बुढ्ढी क्षेत्रको शान्ति सुरक्षा सहीत अन्य विकासमा समेत मद्दत मिल्ने बताए । उनले चौकी स्थापनाले यस क्षेत्रको शान्ति सुरक्षा, अमनचयन अपराध नियन्त्रण हुने भन्दै प्रहरी पनि आफनो बोली बचनमा दरिद्र हुन नहुने बताए ।
उनले सुरक्षाको अनुभुति हुनु पर्ने भन्दै उनले घटना बारे प्रहरीलाई सही सयमा सुुुसुचित गर्न आग्रह गरे ।
सो अवसरमा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिका कै केन्द्रमा रहेको प्रहरी चौकीले नगर कै शान्ति सुरक्षाका लागि मद्दत मिल्ने बताए । उनले नगरपालिकाले प्रहरीसंग हातेमालो गरेर काम गर्ने बताए । कार्यक्रम मै नगर प्रमुख श्रेष्ठले डिआईजि जोशीलाई भवनको साचो समेत हस्तान्तरण गरेका थिए ।
सो भवनमा नगरपालिकाको कृषि र पुश सेवाको ईकाई संचालन हुदै आएको थियो । सोही भवनमा मर्मत संभार गरी चौकी भवन निर्माण गरिएको हो । नगर प्रमुख श्रेष्ठको अध्यक्षता प्रहरी निरीक्षक शैलेश्वरी बाहोराको संचालनमा भएको कार्यक्रममा प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, प्रशासकीय अधिकृत निर्मल पोख्रेल, वडा नम्बर ४ का अध्यक्ष सुशिल चौधरी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायत सुरक्षा समितिका पदाधिकारीहरु लगायतको सहभागीता थियो । १५ जनाको दरबन्दी रहेको चौकीमा हाललाई ७ जना मात्र कार्यरत छन ।