वालिङ, जेठ ३१ गते । शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई भाडादर छुट गर्नेमा स्याङ्जाका यातायात व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन् । जिल्लास्थित यातायात व्यवसायी कम्पनीहरुका बीचमा शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई कानुन बमोजिम भाडामा छुट, आरक्षण सिटको व्यवस्था र भाडादर कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको हो ।
जिल्लास्थित सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई कानुन बमोजिम भाडादरमा छुट गर्न, आरक्षण सिटको व्यवस्था गर्ने कार्यलाई कार्यान्वयनमा जोड दिन यातायात व्यवसायीहरुसँग छलफल गरिएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष रामप्रसाद शर्मा पोखरेलले बताउनुभयो । “प्रहरी प्रशासन, ट्राफिक प्रहरी, अपाङ्ग सञ्जालका प्रतिनिधि तथा यातायात व्यवसायीबीचको संयुक्त बैठकबाट प्रचलित कानुन बमोजिम रही कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ,” उहाँले भन्नुभयो, “कानुनको पालना नभएमा वा शारीरिक अशक्तता भएका व्यक्तिलाई सवारी साधनमा यात्रा गर्दा अमर्यादित व्यवहार नगर्न नगराउन सचेत गराइने भएको छ ।”
सवारी धनी, चालक, सहचालकहरुका लागि चेतना अभिवृद्धि, सन्देशमुलक स्टिकर प्रकाशन तथा सवारी साधनहरुमा टाँस्ने व्यवस्था मिलाईने स्याङ्जा अपाङ्ग समाज स्थानीय साझेदार संस्था रहने गरी वालिङ नगरपालिकामा सञ्चालित स्थानीय तहमा अपाङ्गता विकास कार्यक्रमका फोकल पर्सन एवं अपाङ्गता अधिकारकर्मी युवराज पराजुलीले बताउनुभयो । शारीरिक अशक्तता भएका व्यक्तिहरुले सार्वजनिक यातायातमा केही समस्या भोगेको खण्डमा स्थानीय तह, सुरक्षा निकाय र संघ संस्थाको संयुक्त प्रयासबाट समाधान गर्ने, संयुक्तरुपमा अनुगमन तथा निरीक्षण गर्ने सहमति भएको पराजुलीले बताउनुभयो ।
शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम भाडादर छुट दिने तथा आरक्षण सिटको व्यवस्था मिलाईएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी वालिङका प्रमुख बिमल अर्यालले बताउनुभयो ।
शारीरिक अशक्तता भएका व्यक्तिहरुले पाउनुपर्ने सहुलियत दिँदादिँदै पनि कतिपयले छुट भएपछि दिनुपर्ने भाडा पनि नदिने समस्या रहेको उहाँले बताउनुभयो । भाडादरमा सहुलियत दिने र आरक्षण सिटको व्यवस्था गरिएता पनि कहिलेकाँही शारीरिक अशक्तता भएका व्यक्तिहरुको समुह नै यात्रा गर्ने भएकाले सबैलाई सहुलियत र आरक्षण सिटमा राख्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।
वडा प्रहरी कार्यालय वालिङ, ट्राफिक प्रहरी पोष्ट, द एशिया फाउण्डेशन, अपाङ्ग महासंघ नेपाल, स्याङ्जा अपाङ्ग सञ्जाल, वालिङ नगरस्तरीय पैरवी समुहबीच छलफल गरिएको द एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुर्याउने हेतुले छलफलको आयोजना गरिएको संयोजक परियारको भनाइ छ ।
















































