कपिलवस्तु । साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवाले पशुपालक किसानलाई लक्षित गरी लागत साझेदारीमा मौसमी बर्सिम र जई घाँसको बीउ वितरण गर्ने भएको छ ।
पशुपालनका लागि आवश्यक पौष्टिक हरियो घाँसको उत्पादन बढाउने उद्देश्यले सहकारीले बीउ वितरण गर्न लागेको हो । सहकारीले सार्वजनिक गरेको सूचनाअनुसार घाँसको बीउको मिश्रणमा ७० प्रतिशत बर्सिम र ३० प्रतिशत जई घाँस रहनेछ । किसानले प्रतिकेजी १५५ रुपैयाँ लागत साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सहकारीका प्रबन्धक बसन्त मुराउका अनुसार पशुपालक किसानलाई वर्षभरि पशुका लागि पौष्टिक आहारको व्यवस्था गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । उहाँले हरियो घाँसको उत्पादन बढाउन सके पशुपालनको लागत घटाउन र दूध उत्पादनमा वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँका अनुसार सहकारीमा नियमित दूध बिक्री गर्ने किसान तथा सहकारीका सेयर सदस्यलाई प्राथमिकतामा राखेर बीउ वितरण गरिनेछ । पशुपालनलाई व्यावसायिक बनाउँदै किसानको आयआर्जन वृद्धि गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ ।
सहकारीले बीउ लिन इच्छुक किसानलाई नेपाली नागरिकताको प्रमाणपत्र वा फोटोसहितको परिचयपत्र, नियमित दूध बिक्री गर्ने किसानको विवरण तथा पशुपालनका लागि कर्जा लिएका किसानको हकमा आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ ।
सहकारीले किसानलाई तोकिएको समयभित्र सम्पर्क गरी बीउ लिनसमेत अनुरोध गरेको छ ।
















































