गाईघाट, असार ६ गते । उदयपुरको ताप्ली गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट स्थानीयहरुमा सरकारी सेवा प्रवाह गर्न सुरु गरेको छ । मुलुक संघीय गणतन्त्रमा गएसँगै स्थानीय तहहरुलाई समेत सरकारको रुपमा राखिएपछि पालिकाले सुविधासम्पन्न नयाँ भवन निर्माण गरी त्यसैबाट सेवा प्रवाह गर्न थालेको हो ।
सो भवन मूल्य अभिवृद्धि करबाहेक कूल छ करोड ११ लाख ४४ हजार पाँच सय २९ रुपियाँको लागतमा निर्माण गरिएको ताप्लि गाउँपालिकाले जनाएको छ । आर्शिवाद सगरमाथा जेभी निर्माण कम्पनीले निर्माण गरेको भवनमा तीन वटा सभा कक्षसहित ४८ कोठा रहेको ताप्ली गाउँपालिकाका इन्जिनियर मनिषकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७७ साल असार १० गतेबाट निर्माण कार्य सुरु गरिएको पालिकाको कार्यालय भवन २०७९ मङ्सिर ३० गते सम्पन्न भएकोमा रङ्रोगन तथा कार्यालय सामान र फर्नीचर सेट मिलाउँदा केहि समय लागेपनि यहि असार २ गतेबाट भने सोहि नवनिर्मित भवनबाट सेवा प्रवह गर्न थालिएको हो ।”
गाँउपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले भने नयाँ निर्मित भवनमा आँखी झ्याल धेरै भएकाले केहि समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ भवनमा पालिकाका सम्पूर्ण शाखाहरुको कार्यालय छ तर आँखी झ्याल बढी भएकाले हुरी बतास चलेको बेला काममा निकै समस्या खडा गर्ने गरेको बताउनुभयो । तर यो भवन जिल्लाकै नमुना भवनका रुपमा रहेको प्राविधिकहरुको भनाइ छ ।”
















































