तानसेन, असार ६ गते । तानसेन नगरपालिका –४ कि भुना थापालााई उद्यमी महिला भनेर समबोधन गर्दा खुशीले मन पर्फुल्ल हुनेगर्छ । आफ्नो होजियरी फर्म यो अवस्थामा आइपुग्ला भनेर उहाँलाई विश्वास थिएन । तर गरेपछि हुन्छ भन्ने अनुभव भएको उहाँको भनाइ छ ।
सामान्यतया घरायसी प्रयोगका लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी निर्वाहमुखी तरिकाले जिवन चलाइरहेको भए पनि तानसेन नगरपालिका र मेड्पाको तालिम लिएर उद्योग खोल्न सकेको उहाँले बताउनुभयो ।
थापा आजभोलि गृहिणीबाट व्यवसायी महिला बन्नुभएको छ । होजीयरी व्यवसायले एकातिर उहाँको परिचय फेरिएको छ भने अर्कोतर्फ उहाँको जिवनस्तरमा समेत परिवर्तन ल्याएको छ । थापा मात्र होइन, होजियरीबाट १० जना महिला उद्यमी बन्न सफल हुनुभएको छ ।
उहाँहरुको दैनिकी मात्रै फेरिएको छैन, पहिचान पनि कायम भएको छ । होजियरी उद्यमी रुमकलाले भन्नुभयो, “घरमा बसेर केही गर्दैन भन्ने घरको काम सबै एक्लै गर्नुपर्ने थियो । तर आजभोलि व्यवसाय सुरु गरेपछि घरको काममा पनि सबैले सघाउने गर्नुभएको छ । समाजका दिदीबहिनीले पनि जागीर गर्न थालेपछि फरक दृष्टिकोणले हेर्ने गर्नुभएको छ । पहिले दुई–चार रुपियाँका लागि नपत्याउनेहरु आजभोलि सापटी माग्न आउन थालेका छन् ।”
आफ्नै मेहनत र परिश्रमबाट छोराछोरी हुर्काउनेदेखि शिक्षासम्म यही होजीयरीको कमाइले खर्च चलाउन अहिले दिदिबहिनीलाई गाह्रो छैन । महिला उद्यमी भनेर हिड्दा साच्चिकै केही गर्नमा ढिला भएको अनुभव भएको उहाँले बताउनुभयो ।
थापा र रानाजस्तै उद्यमी महिला बन्नुभएकी बिमला भट्टराई ढल्कदो उमेरमा उद्यमी महिला भनेर चिनिन पाउँदा औधी खुशी भएको बताउनुभयो । आर्थिक जोहो पनि हुने, आफनो खर्च चलाउन अरुसँग हात थाप्न नपर्दा आनन्द आउने उहाँको भनाइ छ ।
१० जना महिला मिलेर नगरपालिकाको आयोजनामा सात दिने इन्टरप्रेनरसिप तालिम लिएर व्यवसाय गर्नुपर्छ भन्ने लागेर ४५ दिनको होजीयरी तालिम लिएर होजीयरी उद्योग खोलेका हुन् । प्रत्येक सदस्यबाट १० हजार रुपियाँ उठाएर एउटा मेशिन र एक बन्डल धागोबाट सुरु गरेको होजियरी उद्योगमा बुन्ने, सिलाउने र इन्टरलक गर्ने मेशिन गरेर ३ वटा मेशिन नगरपालिकाले प्रोत्साहनस्वरुप प्रदान गरेको छ ।
महिला दिदिबहिनी मिलेर केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्न सफल १० जना दिदिबहीनीको होजीयरीमा उत्पादन भएका खादा, स्वीटर अन्य डिजाइनका मखलरहरु हेर्दा लोभलाग्दो देखिन्छ ।
व्यावसायिक रुपले उद्योग सञ्चालन गर्नेहरुका लागि सरकारले आर्थिक र प्राविधिक सहयोगका कार्यक्रम ल्याएकोमा खुशी लागेको उद्यमी महिलाको भनाइ छ । व्यावसायिक उद्योग खोल्दा र सञ्चालन गर्दा पुरुषको सहयोगविना काम गर्न सकिदैन भन्ने मानसिकता बोकेका महिलाका लागि आफूहरु उदाहरण बनेको उद्यमी महिलाको बुझाइ छ ।
















































