काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा रहेको हुलाकी राजमार्गको काम रोकिएपछि स्थानिय जनप्रतिनिधिहरुले अनशन सुरु गरेका छन् । विगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मोरङ हुलाकी सडक निर्माण सम्पन्न गर्न माग राख्दै कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरु बिहीबारबाट अनसन बस्न सुरु गरेको हो ।
कटहरी ३ का वडाध्यक्ष जद्धुलाल कामत, वडा सदस्यहरू वल्सी दास मत्ता, शंकर पासवान, दुखनी कुमारी पासवान र सुलेखा देवी गनगाईले अनसन सुरु गरेका छन् । तराई मधेसलाई यातायातमार्फत पूर्व–पश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुस्त हुँदा स्थानीयलाई सास्ती भोग्नु परिरहेको उनीहरुले गुनासो पोखे ।
मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति त्यसको आधा मात्रै छ । निर्माण व्यवसायीको हेलचेक्रयाइँ गरेर सडक अलपत्र पर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । सडक कहिले निर्माण सम्पन्न हुने हो टुङ्गो छैन । संघ, प्रदेश र स्थानीय सरकारले यो विषयमा खासै चासो देखाएको छैन । नागरिक दबाब परे अनुगमन गर्ने नत्र चुपचाप बस्ने प्रवृत्तिले निर्माण सुरु भएको लामो समयसम्म सडक भद्रगोल बनेको हो । सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको उनीहरुले अशुसन भन्दा अरु विकल्प नरहेको बताए ।
ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँच वटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।
एक महिनायता सडकको काम ठप्प पारेका छन् । बिना जानकारी सडक ठप्प पारेर बेपत्ता उनीहरू हुलाकी सडक आयोजना कोसमेत सम्पर्कमा छैनन् । बनाउँदा–बनाउँदै को सडक अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारहरूको लापरबाही र उनीहरूका अघि राज्य संयन्त्रको कमजोरीले सर्वसाधारण वर्षौंदेखि समस्या भोग्न विवश बनेका छन् ।
तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रक खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ । २०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कार्तिकसम्म पु¥याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ ।
















































