काठमाडौं । स्वस्थ जीवनका लागि समर्पित ॐ समाज डेन्टल हस्पिटल दॉतको उपचारमा मात्र संलग्न नभई बिभिन्न सामाजिक कार्यहरूमा सरिक हुँदै आईरहेको छ ।
पछिल्लो चरण ॐ समाज डेन्टल हस्पिटल धार्मिक अनुष्ठान कार्यमा पनि सक्रिय हुन थालेको छ । इन्द्र अन्नपूर्ण योगा तथा लायन्स क्लब अफ काठमाडौं, ॐ समाज डेन्टल हस्पिटल नैकाप र श्री बैकुण्ठनाथ दिब्यधामको आयोजनामा काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित ॐ समाज डेन्टल हस्पिटलको प्रांगणमा पुरुषोत्तम मास महोत्सवको अवसर पारेर श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना भईरहेको छ ।
उक्त महायज्ञमा श्री बैकुण्ठनाथ दिव्यधामका मठाधीष श्री १००८ स्वामी भागवताचार्य महराजले कथा बाचन गर्ने जानकारी ॐ समाज डेन्टल हस्पिटलका प्रमुख तथा यस महायज्ञ प्रचार प्रसार संयोजक डा. सुभाषकुमार घिमिरेले दिए । संघीय सांसद माननीय कृष्ण गोपाल श्रेष्ठले धार्मिक स्थल मोत्छेनारायणदेखि धार्मिक विधिपूर्वक यहि श्रावण २ गते शोभा यात्राको उद्धाटन गरी शुरू भएको महायज्ञ यहि श्रावणको ८ गतेसम्म चल्ने पनि उनले जानकारी दिए ।
साथै हरेक दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्ने कथा बाचन कार्यक्रमको उद्धाटन प्रदेश सभा सदस्य माननीय केशब पोखरेलले गरेको पनि संयोजक डा. घिमिरेले बताए । हामी स्वास्थ्य क्षेत्रमा त सक्रिय छौँ नै मानसिक र आत्माको पनि पूर्ण शुद्धता होस् भन्ने कामनासहित यस खाले धार्मिक, सामाजिक र सांस्कृतिक कार्यमा पनि लागेको ॐ समाज डेन्टल हस्पिटलका प्रमुख तथा कार्यक्रम प्रचार प्रसार संयोजक डा. घिमिरेले बताए । पुरुषोत्तम मासको समयमा यसखाले अनुष्ठान गरेमा भक्तजनहरूलाई थप पुण्य र ज्ञान प्राप्त हुने हुँदा यो महायज्ञ गरिएकाले सबै भक्तजनलाई आयोजक संस्थाहरू र आफ्नो व्यक्तिगत तर्फबाट पनि निमन्त्रणा गर्न चाहेको उनले बताए ।