हुम्ला, साउन १५ गते । मध्यपहाडी क्षेत्रमा फल्ने अनार हुम्लामा पनि फल्न थालेको छ । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा पनि अनार फल्न सुरु भएको हो ।
सर्केगार्ड गाउँपालिका –४ को सर्केगाडकी हजारी शाहीले आफुले बारीमा लगाएको अनारको बोटमा फल फलेर पाक्न थालेको बताउनुभयो । तीन वर्ष अगाडि लगाएको उहाँको अनारको बोटमा यस वर्षबाट अनार फल्न सुरु भएको हो ।
उहाँले फूल फुल्ने समयमा धेरै फुलेको भए पनि फल भने कम लागेको बताउँदै लागेको बोटका अनार पाक्न थालेको बताउनुभयो । आफ्नो बारीमा चार वटा अनारका बोट लगाउनु भएको थियो । यस वर्षबाट चारै बोटमा अनार फल्न सुरु भएको हो । प्रत्येक बोटमा २५–३० दाना अनार फलेका छन् ।
त्यसैगरी सर्केगार्डका अन्य पाँच परिवारले पनि अनार खेती सुरु गरेको र सबै बोटमा थोरै भए पनि अनार फल्न सुरु भएको उहाँको भनाइ छ । अनार फल्न सुरु भएको तर बोटमै कुहिने र झर्ने समस्या देखिएको उहाँले बताउनुभयो ।
सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले सो क्षेत्र अनारखेतीका लागि उपयुक्त हुनुका साथै मौसममा आएको परिवर्तनका कारण अनार फल्न थालेको बताउनुभयो । किसानले लगाएको अनार फल्न सुरु भएको कारण उहाँले अब सो क्षेत्रमा ब्यावसायिक अनारखेती सुरु गर्नु उपयुक्त हुने बताउनुभयो ।
कृषि प्राबिधिकका अनुसार अनार दुई हजार मिटर अग्लो स्थानसम्म फल्ने गर्छ । पाक्न थालेको अनार कुहिनुमा त्यो अनुसन्धानको बिषय हुने कृषि प्राबिधिकले बताउनुभएको छ ।