सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री प्रचण्डले गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थित रहेको छ । बालुवाटारमा जारी गठबन्धनको बैठकमा ललिता निवासबारे सर्वोच्चको आदेशमा अघि बढ्ने रणनीति बनाइने भएको छ। त्यहीकारण उक्त बैठकमा महान्यायाधिवक्ता पोखरेललाई पनि राखिएको छ।

एक घण्टादेखि बालुवाटारमा बैठक जारी छ । निरन्तर रुपमा भइरहेको संसद् अवरोध र सरकारका पछिल्ला कामहरूको बारेमा समीक्षा गर्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले पटक–पटक संसद् अवरोध गर्दै आइरहेको छ ।
२०६३ चैत ७ गते २८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डमा गठबन्धन दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु तानिने सम्भावना बढ्दै जाँदा त्यसबारे पनि छलफल हुँदैछ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरिएको प्रकरणमा सर्वोच्च अदालतले हालै दिएको आदेशबारे सत्ता गठबन्धनमा छलफल भएको छ । सर्वोच्चले सो प्रकरणका निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि सत्ता गठबन्धनमै रहेका तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ ।