साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
नेपाल खानेपानी संस्थान तौलिहवा शाखाको ट्रान्सफार्रमर विष्फोट भएको छ । मंगलवार सांझ संस्थानको पम्प हाउस नजिक रहेको ट्रान्सफार्रमर विष्फोट हुंदा पानी तान्ने १५ हर्ष पावर र २५ हर्ष पावरमा २ वटा मोटर पम्प जलेका छन् । विष्फोट भएको ट्रान्सफार्रमर र मोटर पम्प बनाउन अथवा परिवर्तन गर्न बुधवार दिन भर लाग्ने संस्थानका उत्पादन ईन्चार्ज हरि नारायण साहले बताए ।
विष्फोटका कारण बुधवार विहान ५ बजे देखि करीब ७ बजे सम्मका लागि मात्रै पानी वितरण गर्न सकिने उत्पादन ईन्चार्ज साहले बताए । मंगलवार सांझ ट्याकीमा भरिएको पानी बुधवार विहान ५ बजेबाट वितरण गर्ने हो, साहले भने, “हेरौं कति घण्टा पुग्छ, यो पानीले ।” हरेक दिन दिदै आए जस्तो विहान ५ बजे देखि १० बजे सम्म, दिउसो १२ बजे देखि १.३० बजे सम्म भने पानी वितरण गर्न नसकिने खानेपानी संस्थानले जनाएको छ ।
पम्प हाउसको ट्रान्सफार्रमर ठुलो आवाजका साथ विष्फोट भएको र विष्फोटका कारण पम्प हाउसका २ पम्प, विद्युत सप्लाई, विद्युतीय सामाग्रीहरु सवै जलेर ठुलो नोक्सान भएको संस्थानका कार्यालय प्रमुख अजय कुमार साहले बताए ।
बुधवार विहानैबाट विद्युत प्राधिकरणसंग समन्वय गरी ट्रान्सफार्रमर, मोटर तथा अन्य उपकरणहरु मर्मत अथवा परिवर्तन गर्ने तयारी गरेका छौं, कार्यालय प्रमुख साहले भने, “ जति छिटो काम गरे पनि बुधवार विहान आंशिक रुपमा पानी वितरण गरी दिन भरी जसो पानी वितरण अवरुद्ध हुनेछ । सके सम्म सांझको समयमा पानी सप्लाईको व्यवस्था मिलाउने ढंगबाट हामी काम गर्ने योजनामा छौं ।”
यो विष्फोट तथा नोक्सानी ५।७ वर्ष पछि मात्र भएको संस्थानले जनाएको छ । संस्थानकाे ताैलिहवा शाखा कपिलवस्तु नगरपालिका वडा न. १, २, ३ र ४ वडामा १ हजार २ सय ३६ ग्राहक रहेका छन् । संस्थानमा ४ लाख ५० हजा लिटर क्षमताकाे खानेपानी ट्रयांकी हाल संचालनमा रहेकाे छ ।