कपिलवस्तु, ३२ साउन । ईलाका प्रहरी कार्यालय पकडीका ईन्चार्ज प्रहरी निरिक्षक शिव कुमार क्षेत्रीलाई तत्काल सरुवा गर्न जनप्रतिनिधीहरुले माग गरेका छन् । लुम्विनी प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरी, मायादेवी गाउंपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, कपिलवस्तु नगरपालिकाका राजनैतिक सल्लाहकार अब्दुल रसिद खां, मायादेवी गाउंपालिकाका ८ वटै वडाका वडा अध्यक्ष लगायतको जनप्रतिनिधीहरुको टोली प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय र लुम्विनी प्रदेश प्रमुख समक्ष ज्ञापन पत्र पठाएका छन् ।
प्रहरी निरिक्षक क्षेत्रीले सर्वसाधारणहरुमा चेक जांचका नाममा स्थानीयलाई दुख दिने, दुधे बालक देखि १ वर्षका बच्चा बेकेका महिलाहरु प्रति अभद्र व्यवहार गर्ने, स्थानीय जन प्रतिनिधीहरुसंग अमर्यादित ढंगबाट प्रस्तुत हुने जस्ता आरोपहरु ज्ञापन पत्रमा लगाईएको छ ।
छिटो भन्दा छिटो प्रहरी निरिक्षक क्षेत्रीको सरुवा गरी नयां प्रहरी निरिक्षक पठाईदिनु हुन ज्ञापन पत्रमा गृह मन्त्रालय तथा लुम्विनी प्रदेश प्रहरी प्रमुख समक्ष अनुरोध गरिएको मायादेवी गाउंपालिकाको अध्यक्ष वलीउद्दिन मुसलमानले बताए । यथाशीघ्र सरुवा नभए हामी बाध्य भई प्रहरी निरिक्षक क्षेत्री विरुद्ध आन्दोलनमा उत्रिन्छौं ।
मायादेवी गाउंपालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका प्रहरी चौकी तथा ईलाकालाई गर्दै आएको आर्थिक सहयोग पनि कट्टी गरेको जनाएको छ । गाउंपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानको अध्यक्षतामा बसेको पालिका बैंठकले ईलाका प्रहरी कार्यालय पकडी अन्र्तगतका सवै चौकी तथा अस्थायी प्रहरी पोष्टको घर भाडा लगायतको सहयोग रकम कट्टी गर्ने निर्णय गरेको मायादेवी गाउंपालिकाले जनाएको छ ।
पालिका क्षेत्रमा रहेका मन्दिरको घन्टी चोरी भएका छन्, मोटरसाईकल चोरी भएका छन् तथा अन्य अपराधिक घटना हुने गरेको वडा नं. ३ का अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । तर त्यस तर्फ भने खासै चासो छैन, वडा अध्यक्ष यादवले भने, “अहिले सम्म चोरीका घटनाका कुनै चोर समातिएका छैनन् ।”
यता प्रहरी निरिक्षक क्षेत्रीले भने आफुले कुनै अमर्यादित गतिविधी नगरेको बताए । राज्यले दिएको जिम्मेवारी अनुसार आफुले काम गर्दै आएको तर सामान्य कुरालाई आफ्नो प्रतिष्ठाको विषय बनाउंदै ठुलो बनाएर आफु विरुद्ध ज्ञापन पत्र बुझाईएको प्रति आफुलाई दुख लागेको छ, उनले भने, “यो विषयलाई यति ठुलो बनाउनु जरुरी थिएन, हामी छलफलबाटै टुंगो लगाउन सक्थ्यौं ।”
आफुलाई प्राप्त ज्ञापन पत्रलाई जस्ताको तस्तै गृह मन्त्रालय पठाईदिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।