तौलिहवा, भदौ १ गते । क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानमा परेको छ । स्तम्भ भएको ठाउँमा पानीकाे निकास नभएपछि हरेक वर्ष वर्षातको सयमा यस्तो अवस्था देखापर्ने गरेको हो । क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाणस्वरुप ऐतिहासिक महत्त्व बोकेकोे गोटिहवास्थित अशोक स्तम्भ अलपत्र अवस्थामा छ । अशोक स्तम्भ यसरी अलपत्र हुँदै जाँदा यो क्षेत्रको पुरातात्विक महत्त्व समेत सङ्कटमा पर्दै गएको हो ।
कपिलवस्तुको यो गोटिहवा गाउँमा क्रकुछन्द बुद्धको जन्मभएको प्रमाणका आधार हो, अशोक स्तम्भ । यस क्षेत्रमा ईसापूर्वदेखि चौथो शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन गरिएका अवशेषहरुबाट प्रमाणित भएको पुरातत्वविद्हरु बताउँछन् ।
यो अशोक स्तम्भमा करिब ५ फिट पानी जमेको र पानीले स्तम्भलाई नोक्सान पर्ने भएको हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीय बताउँछन् । कम्तीमा त्यस वरिपरि पिल्लर उठाएर टिनको छानो लगाएको भए स्तम्भ डुबानबाट जोगाउन सक्ने स्थानीयको भनाइ छ ।
कपिलवस्तु नगरपालिका– ५ का वडाध्यक्ष दिरेपकुमार चौधरीका अनुसार वडाको बजेटले अशोक स्तम्भको बजेटले मात्रै सम्भव नरहेकाले लुम्बिनी विकास कोष पुरातत्व विभागले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी विकास कोष कपिलवस्तु सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्यका अनुसार वर्षाका कारण गोटिहवामा पानी जम्ने परिस्थिति निर्माण भएको बताउनुभयो । अशोक स्तम्भ डुबानमा पर्न नदिनका लागि कोषले तत्कालै आवश्यक जनशक्तिको प्रयोग गरी पानीलाई निकास गर्ने योजनाका साथै यसै आर्थिक वर्षमा संरक्षण गर्ने उहाँले बताउनुभयो ।
संरक्षणको अभावमा स्तम्भको अस्तित्व खतरामा पर्दै गएको छ । करिब ११ फुट लामो स्तम्भको माथिको एक फिट भाग मात्र बाहिर देखिएको हो । अति महत्त्वपूर्ण यो बुद्ध स्थलको संरक्षण हुन नसक्दा वर्षातको समयमा सधैं डुबानमा पर्दै आएको छ ।