कपिलवस्तु, १० भाद्र । महाराजगंज नगरपालिका वडा नं. ३ वरगदीका राधेश्याम बरईले झुठो विवरण पेश गरी भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका छन् । आफ्नी जेठी छोरीका पति भारतको सिद्धार्थनगर थाना पचगवा मौजा अटकोनिया बस्ने खुनखुन बरईको छोरा आफ्ना ज्वाई धरमविर बरईलाई आफ्नो किर्ते छोरा बनाएर नागरिकता दिलाएका छन् ।
नागरिकता प्राप्त गरेका धरमवीरको कपिलवस्तु जिल्ला प्रशासनबाट राम कुमार बरईको नाममा नागरिकता बनेको छ । उनी भारतमा धरमवीर र नेपालमा रामकुमारको नामबाट काम काज गर्दै आएका छन् ।
राधेश्याम बरईले महाराजगंज नगरपालिका वडा नं. ३ बाट आफ्ना ज्वाईलाई ( भारतमा धरमवीर भनिने ) राम कुमारको जन्म दर्ता बनाएका थिए । सोही जन्म दर्ताको आधारमा झुठो विवरण पेश गरि आफ्ना ज्वाईलाई छोरा बनाई नागरिकता प्रमाण पत्र दिलाएको भन्दै स्थानीयले राधेश्याम वरई विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् ।
उजुरी प्राप्त हुना साथ जिल्ला प्रशासन कार्यालयले घटनाको छानविन तथा अनुसन्धान कार्य शुरु गरि सकेको छ ।