साझा न्यूज । कपिलवस्तु
देशभर जनै पूर्णिमा तथा रक्षा वन्धन धुमधामका साथ मनाईएको छ । जनै पूर्णिमामा पुरुषहरुले एक दिन अगाडी चोखो खाएर विहान नुहाएर मन्त्र सहित जनै लगाउंछन् । रहेक कुराबाट रक्षा होस् भनेर पुरोहितको हातबाट रक्षा वन्धन बाधेर यो पर्व मनाईएको छ ।
यसै गरी नेपालको विशेष गरी तराई मधेश र भारतमा धुमधामका साथ दिदी वैनी र दाजु भाई विचको पवित्र पर्व रक्षा वन्धन मनाइएको छ । आफ्ना दाजु भाईको लामो आयु होस्, हरेक विध्न बाधाबाट रक्षा होस् भनेर दिदी बैनीले रक्षा वन्धन (राखी) बांधि दिने चलन छ ।

पौराणिक कथाहरुमा रक्षा वन्धनः
पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविश्य पुराणमा इन्द्र र शचीको कथा छ, भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटनाको थियो भन्न कठिन छ । तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो । दैत्य देवताहरुमाथि भारी पर्न थाले ।
देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए । तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् ।
संयोगले त्यो दिन श्रावण पूणिर्माको दिन थियो । मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो ।
त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ । जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो ।
असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे । राजा बली महान दानवीर थिए । उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राहृमणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे ।
बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुर्ण आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।

बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर–अमर हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए ।
भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।

नारदले बताएअनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ ।
फाेटाे सवै सामाजिक सन्जाल फेसबुकबाट
















































