एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।
नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो ।
ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् । टोलीले पाकिस्तान र श्रीलंकामा दुई खेल खेलेको थियो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गर्दाको आफू प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएको बताएका हुन् ।
लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने बताए ।
क्रिकेट रंगशाला बनाउन लाग्नुपर्ने लामिछानेको भनाइ छ ।