विनाेद अधिकारी । साझा न्यूज
कपिलवस्तु ३१ भदौ । नेपाल चिकित्सक संघको आह्वानमा देशभर गरिएको स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सवै सेवा भन्द भए पछि कपिलवस्तु अस्पतालमा आएका आम सर्वसाधारण समस्यामा परेका छन् ।
गत बुधवार हेटौडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरहरु माथि भएको कुटपिटको घटनामा संलग्न उपर कारवाहीको माग गर्दै देशभर जस्तै कपिलवस्तु अस्पतालका डाक्टरहरुम पनि आन्दोलनमा उत्रिएका हुन् । डाक्टरहरुको आन्दोलनका कारण विरामीहरुले ओपीडी सेवा, स्वास्थ्य वीमा सेवा लगायतका सेवाहरु पाएका छैनन् ।
अस्पतालमा आउने विरामीहरु स्वास्थ्य सेवा पाउन नसक्दा निराश भई घर फर्केका छन् । नशाको उपचार गर्न अस्पताल आएकी शिवराज नगरपालिका वडा नं. ४ पिपराकी नुरजहां डाक्टरको आन्दोलनका कारण चेकअप नगराई फर्किएकी छिन् ।
यसै गरी कपिलवस्तु नगरपालिका वडा नं. १० का मोहम्मद जाहिर पनि छाती दुख्ने, सुगर बढ्ने र शरीर काप्ने लगायतको समस्याले अस्पताल आएका थिए तर उपचार हुन नसक्दा निराश भएर फर्किएका छन् ।
डाक्टर माथि भएको कुटपीट राम्रो कुरा होईन, जाहिदले भने, “तर त्यही विषय लिएर देशभरका अस्पतालमा विरामीहरुलाई स्वास्थ्य सेवा नदिनु झनै राम्रो कुरा होईन ।”
आन्दोलनका क्रममा डाक्टरहरुले आकस्मिक सेवा बाहेकका सवै सेवाहरु बाध्य भई बन्द गर्नु परेको बताए । ओपीडी सेवा बाहेक आकस्मिक, अपरेशन लगायतका अति आवश्यक स्वास्थ्य सेवाहरु भने प्रवाह गरिएको कपिलवस्तु अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विपीन जयसवालले बताए ।
उक्त घटनामा संलग्न दोषीहरुलाई छानविन गरी कारवाही हुनु पर्छ, डा. जयसवालले भने, “देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा सुरक्षा बलको व्यवस्था गर्नु पर्छ ।”
जिल्लाको महाराजगंज, शिवराज, चन्द्रौटा लगायतका स्थानहरुका स्वास्थ्य संस्थाहरुमा पनि ओपीडी बाहेकका स्वास्थ्य सेवाहरु अवरुद्ध भएको छ ।