साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
नेपाल शिक्षक महासंघले आह्वान गरे अनुसार आज कपिलवस्तु जिल्लाका १० वटै स्थानीय सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित बनेका छन् । शिक्षकहरुले स्थानीय तहको कार्यालयमा जम्मा भई सरकारले प्रतिनिधी सभामा दर्ता गरेको शिक्षा विधेयकको संधोधनको माग गर्दै बाध्य भई प्रदर्शनमा उत्रिनु परेको शिक्षक अगुवा लोकनाथ मिश्रले बताए ।
सदरमुकाम तौलिहवामा जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरुले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्वन्धी विधेयकमा भएका कतिपय प्रावधान प्रति आफुहरुको असन्तुष्टि रहेको जनाउंदै सो विधेयक विरुद्ध नारावाजी गरिएको आन्दोलनरत शिक्षक अन्जन सिग्देलले बताए ।
शिक्षकहरुको आन्दोलनका कारण कपिलवस्तु जिल्लाका १० वटा स्थानीय तहका सामुदायिक विद्यालयहरुमा आजबाट पठन पाठन वन्द भएको छ । शिक्षकहरु स्थानीय तहमा उपस्थित भई त्यही हाजिर गर्ने र आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । शिक्षकहरुको आन्दोलनलाई कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ऐक्यवद्धता जनाएका छन् ।
यसै गरी यशोधरा गाउंपालिकाका २७ वटा सामुदायिक विद्यालयका शिक्षकहरुले पनि विद्यालय वन्द गरेर आन्दोलनमा उत्रिएका छन् । यशोधरा गाउंपालिका क्षेत्रका १ सय ४५ जना शिक्षक कर्मचारीहरु अनिरुद्ध मा.वि.बैदौलीमा जम्मा भएर केन्द्रमा जारी आन्दोलनको समर्थन गर्दै नारावाजी सहित गाउंपालिकाको कार्यालय पुगेका थिए ।
आफुहरुले गरेको आन्दोलन प्रति यशोधरा गाउंपालिकाका अध्यक्ष शिवदयाल तिवारी र निमित्त प्रमुख प्रशासकीय अधिकृत अब्दुल सलामले समेत समर्थन सहित ऐक्यवद्धता जनाएको नेपाल शिक्षक संघका पालिका अध्यक्ष तथा नेपाल शिक्षक महासंघका पालिका प्रतिनिधी राघवेन्द्र पाण्डेले बताए ।
आफ्ना मागहरु सम्वोधन नहुंदा सम्म निरन्तर रुपमा आन्दोलन जारी रहने शिक्षक नेताहरु रमेश पाण्डे, अमित पाण्डे, राम मंगल पासी लगायतले बताएका छन् ।
महासंघले अस्थायी प्रकृतिको शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरवन्दी सृजना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा संशोधन गरिनु पर्ने आन्दोलनका अगुवा शिक्षक अफाक अहमद खांले बताए ।
नेपाल सरकारले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधी सभामा दर्ता भएको थियो ।
जिल्लाका १० वटै तहका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित हुंदा विद्यार्थीहरुको पठन पाठन भने नराम्रो संग प्रभावित भएको छ ।