नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल नसच्चिए कांग्रेसले सरकार छाड्नुपर्ने बताएका छन् ।
कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्ताे बताएका हुन् ।
यो सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने भन्दै नेता कोइरालाले कांग्रेसकाे नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।
‘जति दिन यो सरकार राख्यो, त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो,’ उनले भने।
कोइरालाले सरकारको हेपाहा र बलमिच्याइँले चर्को महँगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए ।
जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।
यस्तै नेता कोइरालाले सभापति शेरबहादुर देउवाले विधानसम्मत पार्टी सञ्चालन नगरेको आरोप पनि लगाए ।
सभापति देउवासँग व्यक्तिगत रूपमा आफ्नो कुनै रिसराग नभएको तर पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने उनले बताए ।
‘पार्टीभित्र दूर–दराजका इमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ,’ कोइरालाले भने ।
गठबन्धनको सरकारमा सोजे जस्तो काम गर्न नसकेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले बताउनु भएको छ । अगामी निर्वाचनमा कांग्रेस कसैको बैशाखी ठेकेर होइन् एक्लै लड्ने हिम्मत राख्नु पर्ने उहाँले बताउनुभयो । त्यसैले हामीले हाम्रो संगठनलाई बलियो बनाएर लानु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य गोविन्द राज पोखरेल, लुम्बिनी प्रदेश सभापति अमर बहादुर पुन, सुनिल कुमार शर्मा, प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, नेता अत्तहर कमाल, अभिषेक प्रताप शाह, पुर्व पार्टी सभापति राजेश आचार्य लगायतको सहभागिता रहेको थियो ।
सभापति अब्दुल कलामको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव शक्ति सिहं ठकुरीले गरेका थिए ।