काठमाडौं । चेतन मानन्धरकी पूर्वपत्नी भारती मानन्धर (शेर्पा)ले योगराज ढकाल ‘रिगल’सँग जेलमा भेट गरेर ५० लाख माग गरेको स्वीकार गरेकी छिन् ।
सोमबार प्रशारण भएको ‘क्राइम टिभी नेपाल’ नाम गरेको यूट्युब च्यानलसँगको अन्तर्वार्तामा भारतीले दाङको घोराहीस्थित कारागारमा गएर रिगलसँग भेट गरेको स्वीकार गरेकी छिन् । उनले भेटमा ५० लाख माग गरेको बताएकी छिन् । उनले सँगसँगै जेलभित्रै रिगलको हत्या गर्न खुकुरी बोकेर गएको दाबी पनि गरेकी छिन् ।
रिगलले पनि आफ्ना अन्तार्वार्ताहरूमा भारतीले विभिन्न युवाहरूको षड्यन्त्र र उक्साहटमा आफूसँग ५० लाख माग गरेको खुलासा गरेका थिए । भारतीले रिगलसँग चेतन मानन्धरको नामबाट ब्ल्याकमेलिङ गर्न थालेका कुराहरू बाहिर आएपछि घटनाले नयाँ मोड लिएको छ ।
रिगलको विषयलाई लिएर युवा संघले राजनीतिकरण गर्न खोजेको छ । बाँके जिल्लामा एमाले निकटको युवा संघमा आबद्ध केटाहरूले अबैध धन्दा चलाउँदै आएका छन् । ती अबैध धन्दा खोसिने हो कि भनेर युवा संघका केटाहरूलाई डर त्रास देखिएपछि भारतीलाई उचालेर हर्कत भएका छन् ।
जेलभित्र भारतीले खुकुरी बोकेर गएकी हुन् भने घोराही कारागारको सुरक्षा व्यवस्था निकै कमजोर छ । भारतीले भनेको कुरा सत्य हो भने कारागारका सबै सुरक्षाकर्मी र निजामती कर्मचारीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने भएको छ ।
संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा भएर केही दिन अगाडि रिहाइ भएका रिगलको विषयमा भारतीले बबण्डर मच्चाएकी छिन् । चेतन मानन्धरको हत्या भएपछि भारतीले दोस्रो विवाह गरेकी थिइन् ।
भारतीले नीमा शेर्पासँग दोस्रो विवाह गरेकी थिइन् । नीमा शेर्पासँग पनि भारतीको खटपट चलेको छ । भारतीले नीमालाई अंशबण्डाको झमेलामा पारेको चर्चा छ ।
भारतीको अन्तर्वार्ताका अनुसार चेतन मानन्धकरका बुबाआमाले पनि भारतीको आन्दोलनमा साथ दिएका छैनन् । भारती कुन उदेश्य र कुन तत्वले उचालेर लागेकी हुन् खोजीको विषय बनेको छ ।
भारतीले पूर्वपतिलाई ‘आफ्नो पति’लाई न्याय दिने भनेर बबाल मच्चाएपछि संसार हाँस्न थालेको छ । भारतीसँग उनका आफ्नै छोरा पनि छैनन् । उनका छोरालाई चेतन मानन्धरका बुबाआमाले साथमा राखेका छन् ।
विवादास्पद अभिव्यक्ति दिँदै आएकी भरतीलाई एमाले निकटको युवा संघका नेता सुमन मल्ल, आशिष मल्ल ठकुरी, दीपक थापालगायतको समूहले उचालेको चर्चा छ ।
सुमन मल्लविरुद्ध विभिन्न अपराधका घटनामा नाम जोडिएका छन् । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरको नाम लिएर सुमन मल्लले बाँकेमा धन्दा चलाउँदै आएका छन् ।
आशिष मल्ल ठकुरी ठगी काण्डमा परेका व्यक्ति हुन् । उनले सर्वसाधारणलाई पुलिस सेना बनाइदिन्छु भनेर रकम उठाएर ठगी गरेको आरोप छ । आशिषले आफूलाई अधिकारकर्मी बताउने गरेका छन् । उनले आफू कुनै पनि संगठनमा आवद्ध नरहेको बताएका छन् । तर, उनको कनेक्सन एमालेको युवा संघका नेता कार्यकर्ता र गुण्डा नाइके चक्रे मिलनका केटाहरूसँग देखिएको छ ।
दीपक थापा लागुऔषधमा जेल सजाय पाएर छुटेका व्यक्ति हुन् । उनले लागुऔषधबाटै कमाइ गरेर काठमाडौंमा घर जग्गा जोडेका छन् । दीपक थापालाई प्रहरीले लागुऔषध डिलरको रुपमा चिन्ने गरेको छ ।
एमालेबाट पालिकामा टिकट पाएर पराजित भएका सुमन मल्लले तत्कालीन समयमा मेनपावर सञ्चालक मधु क्षेत्रीलाई खुँडा हानेको आरोप छ । सुमनले विजय गुरुङलाई पनि धारिलो हतियार हानेको आरोप छ । समुन मल्लले नै कोहलपुरका तत्कालीन डीएसपी हेमजंग शाहीसँग मिलेर सन्दीपजंग शाहलाई हतियार र खसी काण्डमा फसाएको आरोप छ ।
सुमन मल्ल र ज्ञाने वलीको निर्देशनमा विनोद खड्का, नारायण भण्डारी, नारायण डाँगी, प्रकाश रसाइली, राम सुनार, प्रकाश थापालगायतको गिरोहले अनुराग शाह र उज्वल शाहलाई खुँडा हानेर आक्रमण गरेका थिए । अनुराग र उज्वल नेपाल तरुण दलमा आबद्ध छन् । उनीहरू रिगल निकटका हुन् ।
सुमन मल्लको गुण्डा नाइके चक्रे मिलनसँग पनि कनेक्सन भेटिएको छ । नेपालगञ्जमा चक्रे मिलनको सुरक्षा दिने भनेर बन्दुक बोकेर हिँडेका गणेश बोगटी, एमालेबाट वडाध्यक्षमा निर्वाचित ज्ञाने वली र सुमन मल्ल एउटै ग्याङका केटाहरू हुन् ।
सुमन मल्लको ग्याङले नेपालगञ्जमा काठ तस्करी, जुवा खेलाउने, ढुंगा गिट्टीबालुवा, क्यासिनो, क्यासिनोभित्र अनैतिक क्रियाकलाप, गाडी, महँगोमा व्याज लगाउने, कर छली र तस्करी, लगायतका अबैध गतिविधिमा हात हालेको आरोप छ । सुमन मल्लका गतिविधिलाई प्रहरीले निगरानी गरेको जनाएको छ ।
एमाले निकटका सुमन मल्लाको ग्याङले नेपाली कांग्रेसका नेताहरूलाई पनि मिलाएका छन् । मधु क्षेत्रीलाई सुमनको नेतृत्वले खुडा प्रहार गरेपछि मुद्दा दर्ता भएको थियो । पछि त्यो मुद्दा मिलाइएको थियो । रिगलका मिल्ने साथी हुन् मधु । साेही कारण हतियार हानेका थिए ।
विजय गुरुङलाई सुमन मल्लको नेतृत्वमा ज्ञाने वली, सुरज शाह, विनोद खड्काले धारिलो हतियार हानेपछि ज्यान मुद्दा लागेको थियो । विजय पनि रिगलकै साथी हुन् । साेही कारणले विजयलाई सुमन मल्लकै नेतृत्वमा सुमन मल्ल, ज्ञाने वली, सुरेश शाह लगायतले खुँडा हानेका थिए । विजयकाे हात नै काटिएकाे छ ।
गुण्डा नाइके चक्रे मिलनसँग निकट रहेका र बाँकेमा चक्रे मिलनको धन्दा सम्हालेका ज्ञाने वली राप्ती सोनारी गाउँपालिकाको वडा नं. २ को वडाध्यक्ष हुन् । ज्ञाने वली एमालेबाट निर्वाचित भएका हुन् । बाहिर अपराध चलाउनेमा रिगलकाे नाम चर्चामा रहे पनि सुमन मल्लकाे समूह एमालेकाे सरक्षणमा गतिविधि गर्दै हिँडेकाे छ ।
आरोपहरूका बारेमा भारती, सुमन, आशिष, ज्ञाने लगायतसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।- रिपब्लिका दैनिकबाट