साझा न्यूज । कपिलवस्तु
दशैं तथा दिपावलीको आगमन संगै जिल्लाका सीमा नाकाहरुमा तस्करी मौलाएको छ । सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीकै मिलोमतोमा जिल्लामा तस्करी बढेको हो । शशस्त्र प्रहरी उपरीक्षक जीवन केसीकै मौन स्वीकृतिमा वर्डर आउट पोष्ट (विओपी)हरुले धमाधम अवैध रकम संकलन गरिरहेका छन् ।
सीमा नाकाबाट कपडा, खाद्यान्न, मेशिनरी पाटर््स, खसी बोका, चप्पल लगायतका सामाग्रीहरु तस्करीबाट जिल्ला भित्रने गरेको छ । सीमा क्षेत्रमा सीमा सुरक्षा र तस्करी नियन्त्रण गर्नुको साटो यहां खटिएका शशस्त्र प्रहरीहरु कमाउ धन्धामा लागेका छन् । जिल्लाको कृष्णनगर पश्चिमका सीमा नाका, कृष्णनगर आसपास, कुशहवा बढनी, मर्यादपुर, रंगपुर, चाकरचौडा लगायतका सीमा नाकाहरुमा निर्वाद रुपमा तस्करीका घटनाहरु बढेका छन् ।
मर्यादपुर सीमा नाका र कृष्णनगर सीमा नाका भएर नेपाल तर्फ आउने भारतीय मालबाहक सवारी साधनहरुबाट गाडी ईन्ट्ीका नाममा शशस्त्र प्रहरीले अवैध रकम असुल गरिरहेका छन् । यसरी विभिन्न माध्यमबाट असुल गरिने रकमको ठुलो हिस्सा विओपी ईन्चार्ज मार्फत् शशस्त्र प्रहरी उपरीक्षक जीवन केसी सम्म पुग्ने गरेको शशस्त्र प्रहरीकै एक कर्मचारीले बताए ।
जिल्लामा शशस्त्र प्रहरी उपरीक्षकलाई महिनावारी बुझाउनु पर्ने भएका कारण पनि सीमा क्षेत्रका विओपी ईन्चार्जहरुले आफ्ना सीमा एरियामा तस्करी नियन्त्रण गर्नुको तस्करहरुलाई मौन स्वीकृति दिएर अवैध रकम संकलन गरिरहेका छन् ।
आम सर्वसाधारणले घरायसी प्रयोजनका लागि सीमा पारीको भारतीय बजारबाट ल्याएको सामाग्रीहरुको निकै चेक जांच गर्छन्, सीमा क्षेत्रका शशस्त्र प्रहरीहरु । तर खुलेयाम ठुलो संख्यामा भंसार छलेर माल सामान ओसार पोसार गर्ने गराउने समूहको सामानहरु भने निर्वाध रुपबाट जिल्लामा भित्रने गरेको छ ।
यस तर्फ सीमा क्षेत्रका शशस्त्र प्रहरीहरुको कुनै चासो देखिदैन । यसरी सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीहरु नै तस्करसंग मिलोमतो गरे पछि भंसार कर्मचारीहरुले सीमा क्षेत्र आसपासमा आफ्नो अनुगमन गस्ती बढाएका छन् ।