काठमाण्डाै – नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन् । अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको प्रहरीले यस वर्ष टीकाको दिन आज बिहान साढे आठ बजेदेखि दिउँसो चार बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
टीकाको दिन सार्वजनिक गाडी कम चल्ने भएकाले नागरिकको सहजताका लागि काठमाण्डौ उपत्यकामा दुई वटा बस सञ्चालन गर्न लागेको नेपाल प्रहरीले जनाएको छ । रुट नम्बर–१ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुँदै जय नेपाल हलसम्म परिक्रमा गर्नेछ ।
रुट नम्बर–२ को बस नक्साल, रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ हुँदै बालुवाटारसम्म पुग्नेछ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । दशैँको बेला आवातजावत गर्नेहरुको सहजताका लागि अस्ति महाअष्टमीदेखि नै उपत्यकाका दुई वटा रुटमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई चरणमा निःशुल्क बस सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । एउटा बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भू हलचोकदेखि वनस्थली, वसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलङ्की हुदैँ हलचोकसम्म र अर्को बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भू हलचोकदेखि स्वयम्भू चोक, कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुदैँ हलचोकसम्म सञ्चालनमा छ ।