आईसीसी एकदिवसीय विश्वकपमा ‘गर या मर’ को अवस्थामा रहेको पाकिस्तानले दक्षिण अफ्रिकासामु जीतका लागि २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको हो ।
पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पाली खेलेका छन्। कप्तान बाबरले ६५ बलमा ४ चौका र १ छक्का लगाउँदै ५० रन बनाएर तब्राइज शाम्सीको बलमा आउट भए । शकिलले ५२ बलमा ५२ रन बनाए । उनले ७ चौका लगाएका हुन ।
पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो सुरुवात गरे पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् । शादाब खानले ४३ रन तथा मोहम्मद रिजवानले ३१ रन बनाउँदा मोहम्मद नवाजले २४ रनको योगदान दिएका थिए ।
दक्षिण अफ्रिकाका लागि शाम्सीले ४ विकेट लिए भने मार्को यानसेनले ३ तथा जेराल्ड कोटजीले २ विकेट लिए ।