साझा न्यूज । सीमा व्यूरो
कपिलवस्तु, २ मंसीर । जिल्लाका विभिन्न सीमा नाकाहरुमा खटिएका शशस्त्र प्रहरीको मौनताका कारण सीमा क्षेत्रबाट चामलको तस्करी बढेको छ । कृष्णनगर, कुशहवा बढनी, मर्यादपुर, रंगपुर, चाकरचौडा लगायतका सीमा नाकाबाट खुलेयाम दिन भर जसो ठुलो मात्रामा भारतीय चामल नेपाल भित्रने गरेको छ ।
भारतीय गाउंका सर्वसाधारणले २५।२५ किलोको सानो बोरा बनाएर सीमावर्ती क्षेत्र नेपाल तर्फ खुलेका गल्ला पसलहरुमा चामल विक्री गर्ने गरेका छन् । नेपाली चामल व्यापारीहरुले सासानो परिमाणमा आउने चामल संग्रह गरी एक ट्क चामल बनाई नेपाली कृषकबाट किनेको चामल बनाई विल काटेर विभिन्न जिल्ला पठाउने गरेका छन् । तर पनि सीमा नाकामा खुलेयाम हुने यस्ता अवैध गतिविधीमा शशस्त्र प्रहरी मुक दर्शक बनेर बसेको छ ।
मासिक रुपमा रकम बुझाएरै आफुहरुले शशस्त्र प्रहरीलाई रकम बुझाएर काम गरिरहेको सीमा क्षेत्रका एक व्यापारीले बताए । महिनावारी रकम नबुझाए त कामै गर्न पाईन्न, उनले भने । सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीकै मिलोमतोमा जिल्लामा तस्करी बढेको स्थानीय राजनैतिक अगुवाहरुले पनि बताएका छन् ।
सीमा क्षेत्रमा रहेका वर्डर आउट पोष्ट (विओपी)हरुले शशस्त्र प्रहरी उपरीक्षक जीवन केसीकै मौन स्वीकृतिमा धमाधम अवैध रकम संकलन गरिरहेका छन् । सीमा नाकाबाट दैनिक लाखौ रुपैयाको चामल अवैध रुपमा भित्रने गरेको छ । तर सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीहरु मौन बसेका छन् ।
तस्करहरुले विओपी मार्फत शशस्त्र प्रहरी उपरीक्षक सम्म रकम खुवाएका कारण सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीहरु आफ्नै आखां अगाडीबाट तस्करी हुने गरेको भए पनि मौन बस्ने गरेका हुन् । सीमा नाकाबाट कपडा, खाद्यान्न, मेशिनरी पाटर््स, खसी बोका, चप्पल लगायतका सामाग्रीहरु पनि तस्करीबाट जिल्ला भित्रने गरेको छ ।
सीमा क्षेत्रमा सीमा सुरक्षा र तस्करी नियन्त्रण गर्नुको साटो यहां खटिएका शशस्त्र प्रहरीहरु कमाउ धन्धामा लागेका छन् । आम सर्वसाधारणले घरायसी प्रयोजनका लागि सीमा पारीको भारतीय बजारबाट ल्याएको सामाग्रीहरुको निकै चेक जांच गर्छन्, सीमा क्षेत्रका शशस्त्र प्रहरीहरु ।
तर खुलेयाम ठुलो संख्यामा भंसार छलेर माल सामान ओसार पोसार गर्ने गराउने समूहको सामानहरु भने निर्वाध रुपबाट जिल्लामा भित्रने गरेको छ । यस तर्फ सीमा क्षेत्रका शशस्त्र प्रहरीहरुको कुनै चासो देखिदैन ।यस अघि सादा पोशाकमा खटिने शशस्त्र प्रहरीहरुले मासिक रुपमा अवैध रकम संकलन गर्ने गरे पनि पछिल्ला दिनहरुमा भने विओपी ईन्चार्जहरुले नै अवैध रकम असुल गरी शशस्त्र प्रहरीका जिल्ला प्रमुख सम्म पुर्याउंछन् ।
तस्करी गर्नेहरु संग आफुहरुको कुनै प्रकारको पनि सेटिंग नरहेको शशस्त्र प्रहरी उपरीक्षक जीवन केसी बताउंछन् । तर यस सम्वन्धमा भने आधिकारिक जवाफ भने उनले दिएनन् ।
















































