कपिलबस्तु, चैत ६ गते । दर्ता सहयोगीहरुको लागि क्षमता अभिबृद्धि सम्बन्धि आधारभूत तथा पुर्नताजगी तालिम तौलिहवामा शुरु भएको छ । जिल्लाका दश वटै स्थानिय तहमा कार्यरत दर्ता सहयोगीहरुका लागि दुई दिने तालिम शुरु भएको हो । तालिम स्वास्थ्य विमा बोर्ड लुम्बिनी प्रदेशको आयोजनामा भएको छ ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नागरिकहरुलाई सहज रुपमा सेवा दिन स्वास्थ्य विमामा विशेष जोड दिनु पर्ने बताउनुभयो । उहाँले नागरिकको सहजताका लागि कपिलबस्तुका दश वटै स्थानिय तहले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ शिवराज नगरपालिकामा हुने मेयर्स क्लबको बैठकमा दर्ता सहयोगिहरुलाई पालिका स्तरबाट सहयोग गराउने बताउनुभयो ।’
परिश्रमीक नलिई काम गरिरहेका दर्ता सहयोगिहरुले वडा वडामा गरिरेको कार्य प्रसंसनिय रहेको नगर प्रमुख पौडेलको भनाई छ । कपिलबस्तु नगरपालिकाले नागरिकको सहजताका लागि विमा वापतको आधा रकम पालिकाले तिर्ने गरेको उहाँको भनाई छ ।
त्यस्तै कपिलबस्तु अस्पतालका निमित्त मेसु डा विपिन जैसवालले अस्पतालहरुले आफ्नो स्तर अनुसारको सेवा विमितहरुलाई दिइदै आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य विमा गरेको सेवाग्राहीहरु पहिला भन्दा अहिले धेरै सुधार आएको बताउनुभयो ।’ विमितहरुलाई सह भुक्तानी प्रक्रियाबारे जानकारी गराउन दर्ता सहयोगिहरुको महत्वपूर्ण भुमिका रहने उहाँको भनाई छ ।
स्वास्थ्य विमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक बहादुर साउदले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिएको बताउनुभयो । अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेको उहाँको भनाई छ । स्वास्थ्य विमा कार्यक्रमलाई सफल बनाउन दर्ता सहयोगीहरुको महत्वपूर्ण भुमिका रहेको उहाँले बताउनुभयो ।
कपिलबस्तुकोमा सवालाख नागरिकहरु स्वास्थ्य विमामा अबद्ध भएको स्वास्थ्य विमा बोर्ड कपिलबस्तुका संयोजक वशिष्ठ तिवारीले बताउनुभयो । बीमा कार्यक्रम मार्फत् पाँच जनासम्मको परिवारको रु तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७०० बुझाउनु पर्दछ ।