रमेश मिश्रा । साझा न्यूज
कपिलवस्तु । शाक्यमुनी बुद्धले ज्ञान प्राप्त गरे पछि पहिलो पटक गृहनगर कपिलवस्तु राज्य प्रवेश गरेको दिनको स्मरण गर्दै प्राचीन कपिलवस्तु नगरको निग्रोधाराम क्षेत्र कुदानमा निग्रोधाराम उत्सवको आयोजना गरिएको छ । निग्रोधाराम उत्सवलाई बुद्ध महा घरफिर्ति आगमन दिवस तथा फुल सद्भाव आदान प्रदानको रुपमा मनाईएको हो ।
शाक्यमुनि बुद्ध २९ वर्षको उमेरमा आफ्नो राजपाठ त्याग गरी शान्तिको खोजीमा निस्किएका थिए । उनले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरी सके पछि करीब ७ वर्ष पछि पहिलो पटक फागुन पुर्णिमाका दिन गृह नगर कपिलवस्तु राज्य फर्केका थिए ।
शाक्यमुनी बुद्धले बुद्धत्व प्राप्त गरी गौतम बुद्धको रुपमा यसै निग्रोधाराम क्षेत्रमा पहिलो पटक आफ्ना मातापितालाई भेट गरेका थिए । सोही दिनको स्मरणमा पछिल्ला वर्षहरुमा फागुन पुर्णिमाको दिन निग्रोधाराम क्षेत्रमा गच्छामी मिडियाको आयोजनामा निग्रोधाराम उत्सव मनाउने गरिएको छ ।
निग्रोधाराम उत्सवमा नेपालका लागि श्रीलंकाका राजदुत सुदर्शना पाथिरानाले नेपाल र श्रीलंका विचको पुरानो बौद्धकालीन सम्वन्ध रहेको बताए । लुम्विनी तथा कपिलवस्तु क्षेत्रमा वर्षेनी ठुलो संख्यामा आउने श्रीलंकाली नागरिकहरुबाट यस क्षेत्रको पर्यटन प्रवर्धनमा योगदान पुगेको बताए ।
बुद्धले देखाएको बाटोमा हिडे मुलुकमा स्थायी शान्ति र समुन्नति हासिल हुन सक्नेमा राजदुत पाथिरानाले जोड दिए । निग्रोधाराम क्षेत्रमै शाक्यमुनी बुद्धका छोरा राहुल भिक्षु बनेका थिए । यस निग्रोधाराम क्षेत्रलाई राजा शुद्धोधनको न्यायालयको रुपमा पनि बौद्ध ईतिहासमा उल्लेख गरिएको छ ।
कार्यक्रममा पुर्व मन्त्री दीपकुमार उपाध्याय, लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय लगायत, लुम्विनी विकास कोषका कार्यकारी सदस्य राम नरेश कोहार , कोषका परिषद सदस्य गोपीकृष्ण शर्मा, पुर्व वडा अध्यक्ष राम भजन कलवार लगायतले कपिलवस्तु क्षेत्रका बौद्धकालीन पुरातात्विक स्थलहरुको विकास प्रचार प्रसार पर्यटन प्रवर्धनका लागि यस प्रकारका उत्सवहरुले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
लगायले कपिलवस्तु क्षेत्रका बौद्धकालीन पुरातात्विक स्थलहरुको विकास प्रचार प्रसार पर्यटन प्रवर्धनका लागि यस प्रकारका उत्सवहरुले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
निग्रोधाराम उत्सवमा शाक्यमुनी बुद्ध गृहनगर फर्कदाको झल्को दिने गरी नाटक समेत प्रदर्शन गरिएको थियो । सोही अवसरमा आयोजना गरिएको फोटो खिच्ने प्रतियोगितामा प्रथम भएको फोटोग्राफर विकास पोख्रेललाई नगद सहित पुरस्कार प्रदान गरिएको छ । फागुन पूर्णिमाका दिन निग्रोधाराम क्षेत्रमा बौद्धकालीन ईतिहासको स्मरण गर्दै दिप प्रज्जवलन गरिन्छ ।
गच्छामी मिडियाको तर्फबाट खग प्रसाद चापागाईको संचालनमा सम्पन्न कार्यक्रम गच्छामी मिडियाका अध्यक्ष मनोज कुमार श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो ।