कपिलवस्तु, १६ चैत्र । निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि प्रक्रियालाई परिमार्जन गरी तल्लो तहका नेता कार्यकर्ताहरुले नै टिकट दिन सक्ने व्यवस्था कांग्रेसले गर्नु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जोड दिएका छन् ।
महिनौ सम्म काठमाण्डौं बसेर पार्टीका शक्ति केन्द्रहरुमा धाउने, चाकडी गर्ने र टिकट ल्याउने परिपाटीले आम कार्यकर्ताहरुमा निराशा आएको र पार्टीको आधिकारिक उम्मेदवारहरु विरुद्ध विद्रोह हुने गरेको नेता थापाले बताए ।
वडा तहको टिकट वडा तहकै पार्टीका समिति तथा जिम्मेवार नेताहरुले वितरण गर्न सक्ने, पालिका तहको पालिका तहकै, प्रदेश र संघीय सांसदको टिकट प्रदेश तथा संघीय क्षेत्रका समितिहरुको व्यापक छलफल र सरसल्लाहमा वाडिने कार्यविधी निर्माणका लागि आफु केन्द्रिय समितिमा गृहकार्य गरिरहेको नेता थापाले बताए ।
नेपाली कांग्रेसको जन जागरण अभियान अन्र्तगत संवाद यात्रामा निस्केका महामन्त्री थापाले आज कपिलवस्तुको चन्द्रौटामा आयोजित सभालाई सम्वोधन गर्दै टिकट वितरण गर्ने यो नयां परिपाटीबाट केन्द्र तिर मात्रै फर्केका नेताहरु अनि मात्र तल कार्यकर्ता स्तरमा फर्किने दावी गरे ।
नेता थापाले जिल्लाको लवनी, तौलिहवा, महाराजगंज लगायतका स्थानमा स्थानीय नेता कार्यकर्ताहरुसंग भेटघाट गरी विभिन्न खाले गुनासो, सुझाव तथा सल्लाहरु संकलन गरेका छन् ।
२०४८ साल देखि २०५१ साल सम्म नेपाली कांग्रेसले लिएको निति तथा योजनाले मुलुकमा विकासको संकेतहरु देखिएको स्मरण गर्दै नेता थापाले तत्कालीन अर्थमन्त्री डा. राम शरण महतले ल्याएको कर नितिबाटै अहिले मुलुकको राजश्व संकलनको आकार बढेको दावी गरे ।
सरकारमा गए जाउंला नत्र नजाउंला तर २०८४ को निर्वाचन नेपाली कांग्रेस एक्लै लड्छ, महामन्त्री थापाले भने, “एक आपमा राम्ररी छलफल संवाद गरेर अब हामी आपसी मतभेदलाई अत्य गरी घर बलियो अभियानमा जुट्नु पर्छ ।”
२०८४ को निर्वाचनमा वडा अध्यक्ष देखि सवै खाले पदमा उम्मेदवार हुन चाहने व्यक्तिले पार्टीमा ३ महिने तालिम लिनु पर्ने निति बन्दै गरेको नेता थापाले बताए ।
सो तालिमबाट सिकेर पार्टी संगठन र सरकार विचको समन्वय, जनताले दिएको जनमत अनुसारको कामकाज लगायतका विषयमा निर्वाचित पार्टीका जनप्रतिधिीले सहज ढंगले जनताले अनुभूति गर्न सक्ने गरी आफ्नो जिम्मेवारी वहन गर्न सक्ने नेता थापाले दावी गरे ।
नेता थापालाई स्वागत गर्न गाउं गाउंबाट नेता कार्यकर्ताहरु संवाद यात्रामा पुगेका थिए । शनिवार नेता थापाको संवाद यात्रा दाङ्ग हुदै बांके जिल्ला पुग्ने कार्यक्रम छ ।
फोटो विवरणः