कपिलवस्तु, २९ चैत्र । मुस्लिम समुदायको पवित्र पर्व ईद कपिलवस्तुका मुस्लिम समुदायले धुमधामका साथ मनाएका छन् । एक महिना लामो पानी समेत नखाई रोजा बसेका मुस्लिम समुदायले हिजो सांझको चन्द्रमा उदाएको हेरे पछि ईद पर्व शुरु भएको हो । ईद पर्वको अवसरमा आज विहानै स्नान गरी नजिकका ईदगाहा तथा मस्जिदहरुमा जम्मा भई मुस्लिम समुदायले सामुहिक नमाज पढेर ईद पर्व मनाएका छन् ।
पर्वको अवसरमा पुर्वमन्त्रीहरु दीपकुमार उपाध्याय, बृजेश कुमार गुप्ता, धरम बहादुर लाल श्रीवास्तव, लुम्विनी प्रदेश सभाका सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, वडा अध्यक्ष जाहिद खां, राजनैतिक अगुवाहरु डा.राजेश गुप्ता, रामभजन कलवार, अनुप कुमार पाण्डेय, धिरज कुमार गुप्ता (संजय) लगायतले ईद पर्वको शुभकामना दिन तौलिहवा बसपार्क नजिककैको ईदगाहामा पुगेका थिए ।
हिन्दु धर्मावलम्वीहरुले समेत मुस्लिम समुदायको यो पर्वमा भेटघाट तथा सामाजिक संजाल मार्फत मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।
सामुहिक नमाज पछि आफ्ना दिवंगत परिवारजनहरुको अन्तिम संस्कार सम्पन्न गरिएका नजिकका करवलाहरुमा गई उनीहरुले दिवंगत आत्माहरुको चीर शान्तिको लागि प्रार्थना समेत गरेको मुस्लिम अगुवा खुर्सेद अहमद खांले बताए ।
ईद पर्वको अर्को महत्वपूर्ण पक्ष जकात हो । ईद पर्वको अवसरमा मुस्लिम समुदायले आफ्नो वार्षिक आम्दानी र आफ्नो घर परिवारमा रहेको गरहनाको मूल्यांकनको आधारमा अढाई प्रतिशत रकम जकातको रुपमा छुट्याएर गरिव गुरुवाहरुलाई दान गर्ने धार्मिक परम्परा रहेको मुस्लिम अगुवा मुख्तार अहमद खांले बताए । जकातबाट वितरण गरिएको रकमबाट गरिवजनहरुले पनि खुशीयालीले पर्व मनाउन सक्छन्, खांले भने ।
जिल्लाको चन्द्रौटा, कृष्णनगर, पकडी, वर्रोहिया, यशोधरा लगायतका स्थानमा पनि मुस्लिमहरुले खुशीयालीका साथ ईद पर्व मनाएका छन् । ईद पर्वको अघिल्लो दिन ईदको चन्द्रमा देखिए संगै ईद पर्वको खुशीयालीमा तौलिहवा बजार स्थित मस्जिद टोलमा युवाहरुले आतिशवाजी गरेका थिए ।