कपिलवस्तु । नेपाल प्रेस यूनियन कपिलवस्तु शाखाले प्रकाशन गरेको नव वर्ष २०८१ सालको क्यालेण्डर एक कार्यक्रमका विच सामुहिक रुपमा विमोचन गरिएको छ ।
नेपाल प्रेस यूनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा पुर्व मन्त्रीहरु सुरेन्द्र राज आचार्य, दिपकुमार उपाध्याय, सहसराम यादव, लुम्विनी प्रदेश सभाका सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, पुर्व पार्टी सभापति राजेश आचार्य, नेपाली कांग्रेसका नेताहरु विक्रम सिंह थापा, राजेश सिंह ज्ञवाली, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल लगायतले सामुहिक रुपमा क्यालेन्डर विमोचन गरेका थिए ।
सो अवसरमा नेपाल प्रेस यूनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले सरकारले चोरबाटोबाट प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने गरी लैजान लागेको संचार विधेयकको विरोध गरेका छन् । केन्द्रिय अध्यक्ष लम्सालले जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुले आआफ्नो गाउं ठाउंका संचार माध्ययमको विकासका लागि के कति काम गरे ? अब नेपाल प्रेस यूनियनले त्यसको लेखाजोखा गर्ने बेला आएको बताए ।
निर्वाचनका बेला प्रेस यूनियन चाहिने, आफु निर्वाचित भई सके पछि प्रेस यूनियनलाई चटक्कै भुलेर आफ्नो स्वार्थ सिद्ध गर्न मात्रै तल्लिन रहने नेताहरुलाई अब हामीले खबरदारी गर्नु जरुरी छ, केन्द्रिय अध्यक्ष लम्सालले भने, “गाउं गाउंका संचार संस्थाहरु बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो भयो भने जनताका अधिकारहरु स्थापित हुन्छन् । यस तर्फ नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुलाई हेक्का होस् ।”
विगतका वर्षहरुको तुलनामा नेपाल प्रेस यूनियन संस्थागत हुदै परिस्कृत भएको प्रति यूनियनकर्मीहरुले खुशी व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल प्रेस यूनियन कपिलवस्तुका अध्यक्ष खग प्रसाद चापागाईले कपिलवस्तु जिल्लाका लोकतन्त्रवादी पत्रकारहरु एक ढिक्का रहेको र त्यसको नेतृत्व नेपाल प्रेस यूनियनले गरिरहेको बताए ।
सो अवसरमा विमोचित क्यालेण्डरले कपिलवस्तु नगरपालिका लगायत कपिलवस्तु जिल्लाको पर्यटकीय विकासमा टेवा पुग्ने दावी गरिएको छ । मुलुकका ७७ वटै जिल्लाहरुमा क्यालेण्डर पुर्याएर यसबाट जिल्लाको पर्यटन विकासमा सघाउने कार्यमा आफुहरु लागि परेको क्यालेण्डर प्रकाशन समितिका संयोजक मनोज पौडेलले बताए ।
नेपाल प्रेस यूनियनका पुर्व सभापति मनोज पौडेल संयोजक, पुर्व सभापति सरोज अर्याल सहसंयोजक र पुर्व सभापति गोपाल भण्डारी, सदस्य राजु खराल, सदस्य अशोक पौडेल क्यालेण्डर प्रकाशन समितिमा रहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसदहरु अतहर कमाल, अभिषेक प्रताप शाह, शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरी लगायतको उपस्थिति रहेको थियो । नेपाल प्रेस यूनियन कपिलवस्तु शाखाका अध्यक्ष खग प्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश पोख्रेल संचालन सचिव कृष्ण गैरेले गरेका थिए ।