कपिलवस्तु, ७ बैशाख । भारतीय नागरिकको मायादेवी गाउंपालिका वडा नं.२ मा अपहरण पछि हत्या भएको छ । ३।४ जनाको समूहले भारतको सिद्धार्थ जिल्ला पोखरभेटवा ग्राम पचगवा पोष्ट का ४५ वर्षीय जमाल अहमदको हत्या गरेका हुन् । आर्थिक लेनदेन तथा फिरौतीका लागि उनलाई अपरहण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनामा संलग्न रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले बताए ।
मृतक जमाल अहमद मायादेवी गाउंपालिकाको पकडी चारचौडा सडक खण्डको विजुवा पुलबाट विहिवार दिउसो अपहरणमा परेका थिए ।
उपहरण पछि जमाल अहमदलाई अपहरणकारी समूहले हात खुट्टा बांधेर मरणासन्न अवस्थामा मायादेवी गाउंपालिका वडा नं. २ को एक मदरसाको कोठामा थुनेर राखेका थिए ।
जमाल अपहरणमा परेको खबर पाए लगत्तै उनको खोजीका लागि विहिवार सांझबाट प्रहरी सघन ढंगबाट परिचालन भएको थियो । अपहरण स्थलबाट भारतीय सीमा क्षेत्र आपसपास चारै तर्फ खोज जांच गर्दा जमाललाई थुनेर राखेको अवस्थामा मदरसाको कोठामा फेला पारिएको प्रहरी नायब उपरीक्षक वलीले बताए ।
उनको उद्धार गर्दा सम्म उनको सोही मदरसाको कोठामा मृत्यु भई सकेको थियो, प्रहरी नायब उपरीक्षक वलीले भने, “शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाएका छौं, बांकी अन्य अनुसन्धानको प्रक्रिया समेत अघि बढेको छ ।”