काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष सिरोहियामाथि लागेका आरोपका सम्बन्धमा कानुनअनुसार अनुसन्धान गर्न राज्यका निकाय स्वतन्त्र भएको जनाउँदै शाखाले सिरोहिया माथि लगाइएका आरोपबारे छानबिनमा उनले सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै राज्यसंयन्त्रको चरम दुरुपयोग गरी कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई निकै दुर्भाग्यपूर्ण भनेको छ ।
‘पछिल्ला केही दिनयता कान्तिपुर दैनिकमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलगायतको संलग्नता, सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा गैरकानुनी रूपमा लगानी गरिएको र गिरिबन्धु टी इस्टेटमा भएको नीतिगत भ्रष्टाचारलगायत विषयमा समाचार प्रकाशन भएकाले त्यसको प्रतिशोध साँध्ने मनसायका साथ अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रस्टै छ,’ शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राज्यको यस्तो हर्कत लोकतन्त्रका लागि लडेको कान्तिपुर, यसमा कार्यरत सञ्चारकर्मी मात्र नभई सिंगो नेपाली पत्रकारिता, सञ्चार जगत् र प्रेस स्वतन्त्रतामाथिकै निर्मम प्रहार भएको भनिएको छ । ‘राजा ज्ञानेन्द्रको निरंकुशतालगायत थुप्रै आरोहअवरोह सामना गरेको नेपाली प्रेसमाथि प्रतिशोधपूर्ण यस्ता घटनाको सामना गर्न कान्तिपुर सदैव दृढ छ,’ विज्ञप्तिमा भनिएको छ ।
राज्यसंयन्त्रको दुरुपयोग गरी समग्र सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोक्न र नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिष्ठान शाखाले जोडदार माग गर्दै आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सरोकार पक्षलाई आव्हान गरेको छ ।
‘राजा ज्ञानेन्द्रको निरंकुशतालगायत थुप्रै प्रेसविरोधी गतिविधिको सामना गरेको कान्तिपुर मिडिया ग्रुप र नेपाली प्रेस कसैको प्रतिशोधपूर्ण व्यवहारबाट कदापि विचलित हुनेछैन । कान्तिपुरले यस्ता राज्य सञ्चालित घटनाको डटेर सामना गर्ने र आगामी दिनमा भ्रष्टाचार, अनियमितता, सहकारी ठगीलगायत विषयमा कलम झन् बुलन्द पार्ने प्रतिबद्धता पनि जनाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
















































