साझा न्यूज । कपिलवस्तु
पोषण शिक्षाको अभाव र पोषिलो खानपीनको आनीबानी अपनाउन नसक्दा जिल्लाका दक्षिणी क्षेत्रका अधिकांश गाउंवस्तीहरुमा सर्वसाधारणको पोषणको अवस्था कमजोर हुदै गएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा तौलिहवामा सम्पन्न पोषण मार्फत् जीवन रुपन्तरण परियोजनाको सिकाई आदान प्रदान कार्यक्रममा सहभागी विज्ञहरुले प्रस्तुत गरेको जिल्लाको तथ्यांक हेर्दा कपिलवस्तु जिल्ला पोषण स्वास्थ्यको हिसाबमा निकै पछि परेको पाईएको हो ।
अन्न उत्पादनको हिसाबले कपिलवस्तु मुलुककै अग्र स्थानमा छ । तर यहांका अधिकाशं बालबालिकाहरुमा कुपोषण र स्कुले बालिकाहरुमा रक्त अल्पता देखिएको छ । हेलेन केलर ईन्टरनेशनलको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्रको साझेदारीमा संचालित पोषण मार्फत् जीवन रुपन्तरण परियोजना अन्र्तगत काम गर्दा १ वर्षको दौरानमा २८ हजार बालबालिकाहरुमा कुपोषणको साम र माम अवस्था देखिएको परियोजनाका फिल्ड संयोजक सुदर्शन गौतमले बताए ।
जिल्लाको शुद्धोधन गाउंपालिका, मायादेवी गाउंपालिका, यशोधरा गाउंपालिका, महाराजगंज नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउंपालिकामा यो परियोजना लागू छ । कार्यक्रम लागू क्षेत्रका माम केश भएका बालबालिकाहरुलाई निशुल्क सुपरसिरियल खुवाउने कार्यक्रम संचालन भई रहेको छ ।
नेपाल सरकारको दिगो विकासको लक्ष्य प्राप्ति लाई सघाउन परियोजनाले सरकारी संयन्त्रसंग मिलेर काम गरिरहेको फिल्ड संयोजक गौतमले बताए । खाना नभएर भन्दा पनि खान नजानेर समुदायमा पोषणको अवस्था विग्रदै गएको कार्यक्रमका सहभागी विज्ञहरुले बताएका छन् ।
सो अवसरमा मायादेवी गाउंपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले जनप्रतिनिधी र प्रमुख प्रशासकीय अधिकृतले पोषण तथा स्वास्थ्य सम्वन्धी कार्यक्रमलाई अफनत्व नलिंदा समुदाय स्तरमा जनस्वास्थ्यको अवस्थामा सुधार गर्न नसकिएको बताए ।
मायादेवी गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले पोषणलाई फोकस गरेर पालिकाको बजेट बनाउने, खाद्य संप्रभुता र खाद्य सुरक्षामा जोड दिनेमा प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले जिल्लाका अधिकांश विद्यालयका किशोरीहरु मध्ये ९० प्रतिशत बढीमा रक्त अल्पता देखिएको बताए । यो हेर्दा सामान्य जस्तो भए पनि डर लाग्दो अवस्था हो ।
आजका किशोरी भोलिका आमा हुन्, स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले भने, “यस्ता रक्त अल्पता भएका आमाबाट जन्मने बाल वच्चाहरुमा कुपोषण लगायत अन्य विभिन्न किसिमका रोगहरुले संक्रमण देखिन सक्छ । तसर्थ पनि यी किशोरीहरुमा देखिएको रक्त अल्पताको अवस्थामा सुधार ल्याउन निकै जरुरी छ ।”
विशेष गरी कमिशन नमिल्दा पोषण सुधारका लागि गरिने कार्यक्रमहरुमा गाउंपालिकाबाट उल्लेख्य बजेट विनियोजन हुन नसकेको शुद्धोधन गाउंपालिकाका उपप्रमुख होम प्रकाश चौधरीले बताए ।
कार्यक्रममा सहभागी विजयनगर गाउंपालिकाका प्रमुख गोपाल थापाले हेलेन केलरको सहयोगमा संचालित यो परियोजनाबाट आम सर्वसाधारणहरुमा स्वास्थ्य प्रतिको चासो बढेको बताए । आफ्नो पालिका क्षेत्रमा पोषण, खानेपानी, सरसफाईको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छु, पालिका प्रमुख थापाले भने, “यसको प्रतिफल केही वर्ष पछि मात्रै देख्न सकिन्छ ।”
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले परियोजनाको १ वर्षे कार्यकाल उप्लब्धीपूर्ण नै रहेकोे बताए । छोरा र छोरीमा विभेद नगरी पोषणजन्य खाद्य सामाग्रीहरुको प्रयोगबाटै जिल्लाको कुपोषणको स्थितिलाई सुधार गर्न सकिन्छ, समन्वय समितिका प्रमुख आचार्यले भने, “जिल्लाका सवै पालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुले पोषणको सुधारका लागि पालिका स्तरबाटै विशेष कार्यक्रम संचालन गर्नु पर्छ ।”
सो अवसरमा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, विभिन्न पालिकाका प्रतिनिधीहरु लगायतले आफ्ना भनाईहरु राखेका थिए ।