अमित पाठक । साझा न्यूज
कपिलवस्तु । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालयले तौलिहवामा विद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा अभिमुखीकरण गरेको छ ।
सदरमुकाम तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय चौक अगाडी जिल्ला ट्राफिक प्रहरी कार्यालयका ईन्चार्ज टफिक प्रहरी निरिक्षक अनिश भण्डारी कमाण्डको ट्राफिक प्रहरीहरुले विद्यार्थीहरुलाई बाटो काट्ने तरिका सिकाएका थिए ।
जेब्रा क्रसिङ्ग, स्पीड लेन, सर्भिस लेन, ट्राफिक संकेतहरु लगायतका नियमहरुको बारेमा विद्यार्थीहरुलाई ट्राफिक ईनिस्पेक्टर अनिश भण्डारीले जानकारी गराएका थिए । कपिलवस्तु नगरपालिका क्षेत्रमा विद्यार्थी तथा सर्वसाधारणहरु जथाभावी सडकमा हिड्दा दुर्घटनाको संभावना बढेको नगरपालिकाका ईन्जिनियर राजेश कुमार शैनीले बताए ।
विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रममा कपिलवस्तु नगरपालिकाका वडा अध्यक्ष जाहिद खांको पनि उपस्थिति रहेको थियो । वडा कार्यालयको तर्फबाट तौलिहवा बजार क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि आफुले पनि आगामी आर्थिक वर्षमा विभिन्न सचेतना कार्यक्रम संचालन गर्ने योजना रहेको वडा अध्यक्ष खांले बताए ।
ट्राफिक प्रहरीले गर्ने सडक चेकजांचमा केही खुकुलो गर्न, ट्राफिक चेकिंग नागरिक मैत्री हुन ट्राफिक प्रहरी संग वडा अध्यक्ष जाहिद खांले आग्रह गरे ।