बाँकेको कोहलपुर नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धि परीक्षामा चिट चोराउन खोज्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका –१४ मा रहेको राम माध्यमिक विद्यालयमा एसइईको ग्रेड वृद्धि परीक्षामा चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का साईमल कार्की र कोहलपुर नगरपालिका–१२ का अर्जुन थारु रहेका छन् ।
आज गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला विद्यालयको पछाडिबाट चिट चोराउन खोज्ने कार्की र थारुलाई प्रहरीले पक्राउ गरेको राम माविका प्रधानाध्यापक जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पर्खालबाट माथि चढेर चिट चोराउन खोज्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार चिट चोराउन खोज्नेलाई नियन्त्रणमा लिइसकेको र उनीहरुलाई परीक्षा केन्द्रका प्रमुखले कारबाहीका लागि निवेदन दिएपछि कारबाही हुने बताउनुभयो ।
कोहलपुर नगरपालिकामा परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन कोहलपुर नगरपालिकामा बसेरै हेर्न मिल्ने गरि सबै परीक्षा केन्द्रमा सिसिटिभी जडान गरिएको छ।