नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ ।
भेरी अस्पतालमा नवनिर्मित इन्डोर भवन र एमआरआई सेवाको आज एक समारोहका बीच उद्घाटन गर्दै मन्त्री पौडेलले बिरामीलाई विना लाइन र झञ्झट सहज रुपमा उपचार सेवा दिने प्रबन्ध कसरी गर्न सकिन्छ भनेर सरकार लागिपरेको बताउनुभयो । उहाँले सरकारी अस्पतालहरूमा भएको क्षमतालाई प्रयोग गरेर प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उपलब्ध उपकरणहरुको सही प्रयोगमा पनि ध्यान दिन आवश्यक रहेको मन्त्री पौडेलको भनाई छ ।
भेरीमा भएको बेडको सूचना पनि अनलाइनमै राखे अझ राम्रो हुने भन्दै उहाँले सोचेको भन्दा राम्रो सेवा भेरीले दिइरहेको भए पनि अझै धेरै सुधार्न आवश्यक रहेको औँल्याउनुभयो । मन्त्री पौडेलले न्यूनतम जनशक्ति र उपकरणको उपलब्धतालाई उचित व्यवस्थापन गरेर भए पनि गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । त्यस क्रममा मन्त्री पौडेलले अस्पतालको निरीक्षण पनि गर्नुभएको छ । यस्तै अस्पतालले आजैदेखि अनलाइन टिकट काट्न सक्ने व्यवस्थाको समेत सुरुवात गरेको छ । मन्त्री पौडेलको उपस्थितिको अवसर पारेर स्वास्थ्य परीक्षणका लागि अब घरमै बसेर पर्चा (टिकट) काट्न सक्ने व्यवस्थाको सुरुवात गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालप्रति जनताको विश्वास बढेको बताउनुभयो । भेरी अस्पताललाई स्तरवृद्धि र व्यवस्थित बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले अस्पतालको सेवा प्रवाह, समस्या र मन्त्रालयसँग अस्पतालका अपेक्षा लगायतका विषयमा जानकारी गराउनुभएको थियो । अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसदहरु सूर्य ढकाल, आशा विक र दीपा शर्मा, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल लगायतको उपस्थिति थियो ।
















































