कपिलवस्तु जिल्लाको भारत सँग सिमाना जोडिएका मर्यादपुर र कृष्णनगर नाकामा भारतिय धार्मिक पर्यटकलाई लक्षित गरि एकिकृत चेक जाँच प्रणाली लागु गर्नु पर्ने माग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ ।
निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष दिनेश हमाल, साझा प्रयास अभियानका अध्यक्ष रबिन्द्रनाथ ठाकुर, काँग्रेस कपिलवस्तु नगर सभापति खुर्सेद अहमद खाँ, काँग्रेस यशोधरा गाउँपालिका सभापति जगदिश पाण्डेय, क्षेत्रिय कोषाध्यक्ष रमेश मिश्राको टोलीले प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको हो ।
प्रजिअ अर्याललाई बुझाईएको ज्ञापनपत्रमा कपिलवस्तुको मर्यादपुर र कृष्णनगर नाकाबाट लुम्बिनी, तिलौराकोट, स्वर्गदवारी, सुपा देउराली र सिद्धबाबा दर्शनका लागि ठुलो संख्याका भारतिय पर्यटक आउने गरेको उल्लेख छ । त्यसरी आउने पर्यटकले चेकजाँचको नाममा दुखः बेहोर्नु पर्दा अर्को पटक नआउने र अरुलाई पनि सोहि सुचना दिदाँ भारतिय धार्मिक पर्यटकको संख्या घटने गरेको उल्लेख छ ।
यिनै समस्यालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुनौली र ककरहवा नाकामा एकिकृत चेकजाँच प्रणालीको सेवा दिएको ज्ञापनपत्रमा प्रष्ट्याईएको छ । सो प्रणाली लागु गरेको नाकामा भंसार र पटके सुबिधा एकै स्थानमा दिनुका साथै सुरक्षा निकायले एकिकृत चेक जाँच गरि सवारी साधनमा पहेलो स्टिकर टासि सके पछि अन्य स्थानमा चेकजाँच नहुने हुदाँ पर्यटकलाई सहजता हुने गरेको देखिएकाले कपिलवस्तुका दुवै सिमा नाकामा सो सेवा लागु गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको हो ।
ज्ञापनपत्र बुझदै प्रजिअ अर्यालले एकिकृत चेक जाँच प्रणाली लागु गर्नका लागि यस अघिनै प्रदेशमा पत्राचार गरेको जनाए । पटके सेवा उपलब्ध गराउने जनशक्तिको व्यवस्थापन गर्ने गरि आफुले प्रदेश मुख्यसचिव सँग निरन्तर पहल गर्दै आएको प्रजिअ अर्यालले जानकारी दिए ।
















































