सुमन सुस्केरा । विराटनगर
नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारमा आज नेपाली कांग्रेस सहभागी हुँदै छ।एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा जाने निर्णय गरेको लामो समयपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको।
यद्यपि, कांग्रेसकै संस्थापनइतर अर्थात डा. शेखर कोइराला समूहलाई छाडेर कांग्रेसको संस्थापन पक्ष मात्रै सरकारमा सहभागी हुने छ। सरकारमा तत्काललाई संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मात्रै मन्त्री पठाउने तयारी छ। नवनियुक्त मन्त्रीहरूको शपथ अहिले बिहान ९ बजेलाई राखिएको छ।
१ मन्त्री र १ राज्यमन्त्रीलाई केही दिनपछि मात्रै सरकारमा पठाइने कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए। हाललाई डा. शेखर कोइराला समूहका लागि भाग छाडिएको उनको भनाइ छ।
यसअघि एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति २ दलबीच भएको थियो। तर, आन्तरिक भागबन्डा मिलाउन नसकेपछि कांग्रेसले मन्त्रालय बढाएर भए पनि भाग पुर्याउन दबाब दिएको थियो। पछिल्लो समय मन्त्रालय संख्या नबढाउने र राज्यमन्त्री नियुक्त गर्ने सहमति भएको हो।
कोशीमा शेखर कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो। संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो। गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन। कोशीमा ९ वटा मन्त्रालय छन्।
















































