नवलपरासी – राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ ।
सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएको छ । पुलसँगै सुस्तामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पनि पुगेको छ । यसअघि नारायणी नदीमा बिजुलीका खम्बा राख्ने समस्याका कारण सुस्तामा बिजुली पुग्न सकेको थिएन ।
भारतीय भूमिले तीन तर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।
एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल २० करोड ९३ लाख रुपैयाँमा निर्माण गरिएको हो ।
















































