लुम्बिनी प्रदेश सरकार आर्थिक विकासका लागि लगानीको खोजीमा जुटेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरुसँगको छलफललाई अगाडि बढाएका छन्।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बेलायती दूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरे।
सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनाहरुमा साझेदारी गर्न अनुरोध गरे। प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमुना शहर बनाउन लगानी चाहिएको जानकारी गराउँदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न आग्रह गरे।
प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी शहर निर्माण, शिवपुर र कालाकाटे सुरुङ्ग मार्ग, बौद्ध सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजनाहरु अघि बढाउन सक्ने गरी लगानीको क्षेत्रहरुको बारेमा जानकारी गराएको छ।
प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी बोर्डसँग पनि निरन्तर छलफल गरिरहेको छ। लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ।
















































