विकास पोख्रेल
कपिलवस्तु,चैत ३१ गते । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का स्थानीय किसान राम ललित चौहानले आफू जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको बताएका छन्। वर्षौंदेखि खेती किसानी गर्दै आएका चौहानले पछिल्ला वर्षहरूमा मौसममा आएको अप्रत्याशित परिवर्तनका कारण आफ्नो खेतीमा ठूलो नोक्सानी भएको दुखेसो पोखेका छन् ।
उनका अनुसार विगत केही वर्षदेखि वर्षा अनियमित भएको छ । कहिले लामो समयसम्म खडेरी पर्ने त कहिले अचानक ठूलो वर्षाले बालीनालीमा क्षति पु¥याउने गरेको छ। यस वर्ष पनि समयमा पानी नपरेका कारण धानको रोपाइँ गर्न ढिलाइ भएको र उत्पादन घट्ने चिन्ता बढेको उनले बताए।
चौहानले भने, “पहिला यस्तो थिएन । समयमै पानी पथ्र्यो, खेती पनि राम्रै हुन्थ्यो । तर अहिले त कहिले पानी पर्छ, कहिले पर्दैन ठेगानै हुँदैन। यो सब जलवायु परिवर्तनले गर्दा भएको हो । हामी जस्ता किसानलाई धेरै गाह्रो भएको छ ।“ उनले तापक्रममा भएको वृद्धिका कारण नयाँ–नयाँ रोग र कीराहरूको प्रकोप बढेको पनि बताए । यी रोग र कीराहरूले बालीमा क्षति पु¥याउँदा उत्पादनमा थप कमी आएको उनको भनाइ छ।
राम ललित चौहान जस्ता धेरै किसानहरू जलवायु परिवर्तनको नकारात्मक असर खेपिरहेका छन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको चुनौतीले किसानहरूको जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।
क्पिलबस्तु नगरपालिका वडा नं.९ का वडाध्यक्ष दिपक गुरुङका अनुसार जलवायु परिवर्तनको असर वडामा पनि स्पष्ट रूपमा देखिएको बताए । उनले भने, “राम ललितजीले भनेको कुरा सत्य हो । पछिल्ला वर्षहरूमा मौसमको चक्रमा धेरै परिवर्तन आएको छ । अनियमित वर्षा, खडेरी र तापक्रम वृद्धिले यहाँका किसानहरूलाई निकै समस्या पारेको छ ।”
अध्यक्ष गुरुङले वडा कार्यालयले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विभिन्न योजनाहरू ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले भने, “हामी किसानहरूलाई जलवायु अनुकूल खेती प्रणाली अपनाउन प्रोत्साहन गर्ने योजना बनाउँदैछौँ । यसका लागि आवश्यक तालिम र सहयोग उपलब्ध गराइनेछ ।”
उनले थप भने, “सिंचाई सुविधालाई व्यवस्थित गर्न र पानीको उचित व्यवस्थापन गर्न पनि हामी काम गरिरहेका छौँ । साथै, नयाँ प्रविधि र उन्नत बीउको प्रयोगबारे किसानहरूलाई जानकारी गराइनेछ ।”
जलवायु परिवर्तनको समस्यालाई सामूहिक प्रयासबाट मात्र समाधान गर्न सकिने उनले बताए । उनले किसानहरूलाई धैर्य गर्न र वडा कार्यालयसँग सहकार्य गर्न आग्रह गरे । “यो चुनौती ठूलो छ तर हामी सबै मिलेर यसको सामना गर्नेछौँ,“ उनले भने ।
कृषक चौहान प्रातिनिधि पात्र मात्र हुन उनि जस्ता अन्य किसानहरूले पनि जलवायु परिवर्तनको असर कम गर्न वडा कार्यालयबाट ठोस पहलको अपेक्षा गरेका छन् । वडा अध्यक्ष गुरुङको सकारात्मक प्रतिक्रियाले किसानहरूमा केही आशा जगाएको छ । अब वडा कार्यालयले कति छिटो र प्रभावकारी रूपमा योजनाहरू कार्यान्वयन गर्छ, त्यो हेर्न बाँकी छ ।
जलवायु परिवर्तनको बढ्दो असरले कपिलवस्तु जिल्लामा रहेका महत्वपूर्ण रामसार क्षेत्रहरू गम्भीर संकटमा परेका छन् । सिमसार क्षेत्रको अन्तर्राष्ट्रिय महत्व बोकेका जगदीशपुर ताल र यस आसपासका क्षेत्रहरूमा तापक्रम वृद्धि, अनियमित वर्षा र खडेरीका कारण जैविक विविधतामा ह्रास, पानीको स्रोतमा कमी र स्थानीय समुदायको जीवनयापनमा नकारात्मक प्रभाव देखिएको छ ।
विशेषगरी जगदीशपुर ताल, जुन नेपालको एक महत्वपूर्ण रामसार क्षेत्र हो, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको छ । तालको पानीको सतह घट्दै गएको छ, जसले यहाँ आश्रित जलचर प्राणी र चराचुरङ्गीहरूको वासस्थानमा गम्भीर चुनौती थपेको छ । पानीको कमीका कारण विभिन्न प्रजातिका माछा, उभयचर र अन्य जलीय जीवजन्तुहरू लोप हुने खतरा बढेको छ । यसले यस क्षेत्रको अद्वितीय जैविक विविधतालाई कमजोर बनाएको छ ।
यस वर्ष वर्षायाम सुरु हुन ढिलाइ हुनुका साथै अत्यधिक गर्मीका कारण ताल र आसपासका सिमसार क्षेत्रहरू सुक्खा देखिएका छन् । लामो समयसम्म पानी नजम्दा सिमसार क्षेत्रको प्राकृतिक स्वरूप परिवर्तन भएको छ । रैथाने वनस्पतिहरू पानीको अभावमा सुक्दै गएका छन् भने अतिक्रमणकारी झारपातहरूले सिमसार क्षेत्र ढाक्न थालेका छन् । यसले सिमसार क्षेत्रको मौलिक पारिस्थितिक प्रणालीलाई नै खतरामा पारेको छ ।
सिमसार क्षेत्रहरू माछा मार्ने, सिँचाइ गर्ने र पशुपालनका लागि महत्वपूर्ण स्रोत हुन् । पानीको अभाव र जैविक विविधतामा आएको कमीले स्थानीय माझी समुदाय, किसान र पशुपालकहरूलाई प्रत्यक्ष असर पारेको छ । परम्परागत पेशा संकटमा परेका छन् भने खाद्य सुरक्षाको चुनौती पनि बढ्दै गएको छ ।
रामसार क्षेत्रको संरक्षणका लागि स्थानीय समुदाय, सरकारी निकाय र संरक्षणकर्मीहरूले तत्काल संयुक्त पहल थाल्नुपर्ने आवश्यकता छ । जलवायु परिवर्तनका नकारात्मक असरहरूलाई कम गर्न दीर्घकालीन र प्रभावकारी योजनाहरू कार्यान्वयन गर्नुपर्ने देखिन्छ । सिमसार क्षेत्रको पानीको स्रोतलाई दिगो बनाउन वर्षाको पानी संकलन, भूमिगत पानीको व्यवस्थापन र पानीको विवेकपूर्ण प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ ।
त्यसैगरी, सिमसार क्षेत्रमा पाइने दुर्लभ र लोपोन्मुख जीवजन्तु तथा वनस्पतिहरूको संरक्षणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
कपिलवस्तुका रामसार क्षेत्रहरू वातावरणीय सन्तुलन र जैविक विविधताको भण्डार मात्र नभई स्थानीय समुदायको आर्थिक र सामाजिक जीवनको आधार पनि हुन्। जलवायु परिवर्तनको बढ्दो जोखिमलाई ध्यानमा राख्दै यी महत्वपूर्ण क्षेत्रहरूको संरक्षणका लागि समयमै ठोस कदम नचाल्ने हो भने यस क्षेत्रको प्राकृतिक सम्पदा र स्थानीय समुदायको भविष्य दुवै संकटमा पर्ने निश्चित छ ।