कपिलवस्तु, भदौ १७ गते । मायादेवी गाउँपालिकाले आ.व. २०८१/०८२ का पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ।
दुई दिनसम्म (भदौ १६ र १७ गते) गाउँपालिकाको सभाहलमा आयोजित गोष्ठीमा गाउँपालिकाभित्र सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरुको प्रगति, उपलब्धि र चुनौतीबारे विस्तृत मूल्याङ्कन गरिएको थियो।
गोष्ठीमा मातृशिशु स्वास्थ्य, खोप कार्यक्रम, पोषण, सरसफाइ, गैरसंचारी तथा संक्रामक रोग नियन्त्रण लगायतका विषयमा प्रस्तुतिकरणसहित सहभागीहरूमाझ छलफल भएको थियो।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेन्द्रप्रसाद यादवले गोष्ठीको महत्वबारे बताउँदै भने, “यो समीक्षा गोष्ठीले विगत वर्षमा गरेका कामको स्पष्ट नतिजा देखाएको छ। सहभागी सरोकारवालाबाट प्राप्त सुझावलाई आगामी वर्षको योजना र कार्यान्वयनमा आधारका रूपमा उपयोग गरिनेछ।”
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा देखिएका उपलब्धिहरु प्रशंसनीय भए पनि अझै सुधारका थुप्रै सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएका कारण विगत वर्षमा उल्लेख्य प्रगति भएको छ। अब अझै प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्न सबै तहबाट सहकार्य आवश्यक छ।”
गोष्ठी गाउँपालिका उपाध्यक्ष सरस्वती यादवको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखाका प्रमुख बैतुल्ला धुनिया, विभिन्न वडामा रहेको स्वास्थ्य चौकीहरूको प्रमुख, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।
















































