काठमाडौँ । जेन जेड नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा तथा अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाले आग्रह गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार जारी गरेको विज्ञप्तिमा त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने र जनधनको क्षति हुने सम्भावना औँल्याउँदै तत्काल बुझाउन अनुरोध गरिएको छ।
सेनाले हतियार वा गोलीगठ्ठा फेला परेका व्यक्तिलाई सुरक्षाकर्मीलाई जानकारी दिन र सम्बन्धितलाई बुझाउन प्रेरित गर्न आग्रह गरेको छ। साथै, सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न चेतावनी दिइएको छ।
विज्ञप्तिमा हतियार वा गोलीगठ्ठा नबुझाई कसैसँग फेला परे प्रचलित कानुनअनुसार कडा कारबाही हुने उल्लेख छ।

















































