काठमाडौँ। २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तुलनामा २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। सुरक्षा व्यवस्था, झडपका घटना, मानवीय क्षति तथा मतदान व्यवस्थापनका दृष्टिले यस निर्वाचनमा उल्लेखनीय सुधार देखिएको छ।
२०७९ सालको निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच झडपका घटनाहरू भएका थिए। सो क्रममा बाजुरा र कालिकोटमा गरी चार जनाको मृत्यु भएको थियो भने इलाम, सप्तरी, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, दार्चुला, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना घाइते भएका थिए।
त्यसैगरी ताप्लेजुङ, इलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु, दार्चुला लगायतका जिल्लामा विष्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया विथोल्ने प्रयास भएका थिए। ताप्लेजुङ, ओखलढुंगा, सप्तरी, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुम पश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, कालिकोट, जुम्ला, डोल्पा, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ, कैलाली र ललितपुरमा गरी ५० स्थानमा झडपका घटनाहरू भएका थिए। उदयपुर, दोलखा र सिन्धुपाल्चोकमा बुथ कब्जा भएको तथा देशभर ६२ मतदानस्थलमा निर्वाचन कार्य अवरुद्ध भएको थियो।
यसपटक भने सुरक्षा व्यवस्थापन चुस्त बनाइएकाले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको प्रभावकारी परिचालनका कारण कुनै ठूलो झडप वा हिंसात्मक घटना हुन पाएन। कतिपय स्थानमा सामान्य विवाद देखिए पनि सुरक्षामा खटिएका प्रहरीले तत्काल नियन्त्रणमा लिएपछि मतदान प्रक्रिया सहज रूपमा अघि बढेको थियो।
नेपाल प्रहरीका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू परिचालन गरी संवेदनशील जिल्लाहरूमा उच्च तहका अधिकृतको अनुगमन तथा सुपरीवेक्षण गरिएको थियो।
मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन शान्तिपूर्ण देखिएको छ। अघिल्लो निर्वाचनमा मृत्यु तथा घाइतेका घटनाहरू भए पनि यसपटक त्यस्ता अप्रिय घटना दोहोरिन पाएनन्। मतदान स्थगन तथा पुनः मतदान गर्नुपर्ने अवस्था पनि सिर्जना भएन।
सुरक्षा निकायहरूको प्रभावकारी समन्वय, मतदाताको सचेतना तथा निर्वाचन व्यवस्थापनमा गरिएको सुधारका कारण २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
















































