कपिलबस्तु, चैत्र ३ गते । जिल्लाको कपिलबस्तु नगरपालिकाको एक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ । नगरपालिकाको वडा नं. २ सेमरहवा स्थित श्री राम जानकी आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई पोशाक, टोपी, स्वीटर, कपी, कलम, झोला, पेन्सिल वितरण गरिएको छ भने अभिभावकहरुलाई चामल र तेल उपलब्ध गराइएको थियो ।
सो अवसरमा कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले यस्ता सहयोगी कार्यक्रमहरुले बालबालिकाको पढाईमा उत्साह थप्ने र समाजलाई सकारात्मक दिशामा लैजाने बताउनुभयो । विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अभिभावकहरुलाई खाद्यान्न उपलब्ध गराइएको कार्य प्रशंसनिय योग्य रहेको उहाँले बताउनुभयो ।
राइट टु एक्सेस नेपालका विनोद पौडेलले यस किसिमका कार्यक्रमले विपन्न बालबालिकालाई शिक्षा प्राप्त गर्न सहज बनाउने बताउनुभयो । विद्यालयका कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा लुम्बिनी विकास कोषका पुर्व सदस्य राजेश ज्ञवालीले यस्तो विभिन्न किसिमका निरन्तर सामाजिक सेवा गर्दै आएको उल्लेख गर्दै शिक्षामै आधारित कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो । ज्ञवालीले फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्व तर्फ विभिन्न किसिमका कार्यहरु भइरहेकोे जानकारी दिंदै यसले समुदायमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष डाक्टर यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ राम सुवास कोरीले गर्नु भएको थियो ।
















































